विराटनगरः उच्च अदालत विराटनगरले साढे ३३ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न आदेश दिएको छ ।
उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो ।
खत्रीलाई त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा चूडामणि उप्रेती (गोरे)को समूहले दुबइबाट भित्र्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट भन्सार छली गरी भित्र्याउने कार्यमा सहयोग गरेको आरोप रहेको छ ।
यसैगरी, डङ्गोलले भने विमानस्थलमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरले अभियोग लगाएको छ ।
जिल्ला अदालत मोरङले डङ्गोललाई गत जेठ ८ गते र खत्रीलाई जेठ २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।