इटहरीः इटहरीमा यही माघ २४ गतेदेखि फागुन ३ गते सम्म १० दिने खाद्य महोत्सव (फुड फेस्टिबल) हुँदैछ । फुड फेस्टिबल भने पनि खानाका मात्रै आइटम नहुने आयोजकको भनाइ छ ।
दैनिक सांस्कृतिक प्रस्तुति र १४ जिल्लाका खानपान, इटहरी र प्रदेश १ का मुख्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार आदिसँगै थुप्रै नयाँ कुरा यो महोत्सवमा हुने भएका छन् ।
होटल व्यवसायी सङ्घ इटहरीको मुख्य आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको महोत्सवमा इटहरीमा केही नयाँ प्रयोग हुने भएका छन् । यी हुन् इटहरीमा पहिलो पटक प्रयोग हुन लागेका फुड फेस्टिबलका ६ नयाँ कामः
१. सिटी हेलिटुर र पाथीभरा हेलिटुर
यस पटकको इटहरी फुड फेस्टिबलमा इटहरी र धरान आसपासका क्षेत्रको हेलिटुर गराइने भएको छ । यो प्याकेज इटहरीमा पहिलोपटक हुन लागेको हो । यसअगाडि विराटनगर, विराटचोक र भेडेटारमा मात्रै यस्ता प्याकेज गरिएका थिए । ४ हजार ९ सय ९९ रुपैयाँमा इटहरी र धरानको हेलिटुर माघ २४, २५ र २६ गते हुने होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुलीले बताए । पराजुलीका अनुसार हेलिटुरको बुकिङ प्रारम्भ भइसकेको छ ।
२. स्तरीय स्टेज, स्टल र व्यावसायिक इभेन्ट म्यानेजमेन्ट पार्टनरसँगको सहकार्य
यस अगाडिका इटहरीमा हुने विभिन्न स्टल तथा स्टेज महोत्सवमा राम्रोसँग बन्थे । तर, यसरी बनेका सबै स्टल, स्टेज र सुन्दरताको लागि टेन्ट अनि क्याटरिङ व्यवसायी पुरानै ‘थिम’मा हुन्थे । यस पटक बिल्कुल फरक हुने आयोजकको भनाइ छ ।
इभेन्ट संसारजस्तो सङ्घीय राजधानी काठमाडौंको ‘क’ श्रेणीको इभेन्ट व्यवस्थापक कम्पनीसँग सहकार्य गरेकाले यस पटकको महोत्सव सेटअप आकर्षक र स्तरीय हुने यसका अभियानकर्मी तथा प्रिमियर होटल स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । भुसालका अनुसार यस पटकको महोत्सवमा भएको प्रयोगबाट प्रदेश १ को महोत्सवमा नयाँ अभ्यासको प्रारम्भको प्रयास हुनेछ ।
३. बाल उद्यानमा सहभागीको बीमा
इटहरी फुड फेस्टिबल २०१९ ले पहिलोपटक आफ्ना सहभागीको बीमा गराउँदैछ । बालउद्यानमा बालबालिकामैत्री खेलमा सहभागी हुने बालबालिकाहरूको लागि यो सुविधा हुने सङ्घका महासचिव उमेश दाहाल बताउँछन् । दाहालका अनुसार एक पटकको टिकटका आधारमा महोत्सव अवधिभरका लागि बीमा लागू हुनेछ ।
४. अर्ना र लालीगुराँसको प्रतिमा
फुड फेस्टिबलको आयोजक होटल व्यवसायी सङ्घ र फेस्टिबलस्थल इटहरी भए पनि यस पटकको महोत्सव प्रदेशस्तरीय हुने आयोजकको दाबी छ । प्रदेश १ को प्रतिनिधित्व गर्ने स्थानीय, जातीय र मौलिक खानाका साथै भौतिक प्रतिमा पनि बनाइने भएको छ ।
यसको लागि कोशी टप्पुमा पाइने अर्ना र तीनजुरे, मिल्के जलजले क्षेत्रमा पाइने गुराँसको राजधानीको विम्ब बोक्ने लालीगुराँसका प्रतिमा महोत्सवमा राखिनेछन् । हेर्दा सेल्फी प्वाइन्टजस्ता भए पनि यी सामग्रीबाट प्रदेश १ को पर्यटकीय ब्रान्डिङ बालबालिकामा पुग्ने सङ्घका सदस्य तथा महोत्सवका संयोजक दीपक पोख्रेल बताउँछन् ।
५. विद्यार्थीहरूबीच खाना पकाउने प्रतियोगिता र फेशन सो
यस पटकको फेस्टिबलमा विभिन्न होटल तथा हस्पिटालिटी (सत्कार) को क्षेत्रमा औपचारिक अध्ययन गरेका विद्यार्थीहरूबीच खाद्यान्न पकाउने प्रतिष्पर्धा हुने भएको छ । प्रतिष्पर्धाबाट नयाँ पुस्तामा पर्यटन, खाद्यान्न र हस्पिटालिटी जस्ता विषयको प्रचार र प्रवद्र्धन हुने आशा रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष गोविन्द थापा बताउँछन् ।
यस्तै, होटल तथा हस्पिटालिटीका क्षेत्रमा अध्ययन गर्दै गरेका विद्यार्थीको फेशन सोको पनि आयोजना हुने आयोजकले बताएको छ ।
६. दैनिक भाग्यशाली विजेताको व्यावसायिक फोटो सुट र निःशुल्क वाइफाइ
७० वटा स्टल हुने इटहरी फुड फेस्टिबल क्षेत्रमा निःशुल्क वाइफाइ क्षेत्रको व्यवस्था हुने भएको छ । वाइफाइ मात्रै होइन, टिकट लिएका दैनिक १५ जना भाग्यशाली विजेताहरू गोलाप्रथाबाट छानेर निःशुल्क व्यावसायिक फोटोसुट हुनेछ ।