बेलबारी: कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो तथा काममा सहजता आउने भन्दै मालपोत कार्यालय बेलबारीले केही दिनअघि मात्रै अनलाइन सेवाको बिस्तार गरेको थियो ।

सेवा बिस्तार गरेपछि कार्यालयले दिने सेवा छरितो हुने भन्दा पनि पहुँच हुनेको भरमा मात्रै पर्न थालेको भनी सेवाग्राहीले गुनासो गरेका थिए । कार्यालयले १२ घण्टे सेवा दिँदा कार्यालयका कर्मचारीले बिहान बेलुका पहुँच तथा पैसाका आधारमा काम गर्ने गरेका थिए । पैसा र पहुँच नहुने सेवाग्राहीलाई भेन सर्भर नभएको र नेट नभएको भनी टार्दै आएका थिए ।

यस्ता गुनासासम्बन्धी समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि शुक्रबार बिहान १० बजे मात्रै कार्यालय खुलेको सेवाग्राहीले बताए ।

कार्यालय खुल्ने समय बिहान १० बजेदेखि भए पनि पहुँच हुँदा तथा पैसा दिँदा बिहान सात बजेदेखि नै काम हुने गरेको थियो । कर्मचारीले मूल गेटमा ताला लगाएर छेउमा रहेको ढोका खोलेर काम गर्ने गरेका थिए । २०५४ सालमा स्थपना भएको मालपोत कार्यालयले १ सय ४७ औँ शाखाका रूपमा अनलाइन सेवा दिन थालेको २ हप्ता बित्न नपाउँदै झन् गुनासो बढ्दै जान थालेको थियो । मालपोत कार्यालयमा आउने गुनासोको अन्त्य हुने भन्दै अनलाइन प्रविधिमार्फत् सेवा दिन थालिए पनि कर्मचारीहरूको कमाइ खाने थलोको रूपमा विकास भइरहेको आरोप लाग्न थालेको थियो ।

कार्यालय प्रमुख योगेन्द्रप्रसाद दुलालले विभागसँग कुरा गरेर केही समयका लागि बिहान कार्यालय खुला गरिएको बताएका थिए । तर, शुक्रबार भने बिहान गरिने काममा सेवाग्राहीलाई भित्र प्रवेश गर्न नदिने उनले नै निर्देशन दिएको बुझिएको छ ।

प्रदेश नम्बर १ का झापा, मोरङ तथा सुनसरीका मालपोत कार्यालयमा अनलाइन प्रविधि शुरु गरिएको छ । सो प्रविधिमा जग्गाधनीको फोटो, मोबाइल नम्बर, औठाछापसहित तीनपुस्ते विवरण राखिने मालपोत कार्यालयले जनाएको छ ।