इटहरीः प्रदेश १ मा मुख्य कार्यालय रहेका २ विकास बैंक मर्ज हुने भएका छन् । मोरङमा मुख्य कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक र धनकुटामा मुख्य कार्यालय रहेको काबेली विकास बैंक मर्ज हुने भएका हुन् । मर्जरको विषयमा बिहीबार विराटनगरमा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

मर्जपछि बैंकको नाम सप्तकोशी हुने र यो प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने दुवै बैंकका अध्यक्षले दावा गरेका छन् । ८१ करोड हाराहारी संयुक्त पूँजी हुने यी बैंकको मर्जरको लागि सप्तकोशी डेभलमेन्ट बैंकका अध्यक्ष तारानाथ निरौला र काबेली विकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले ‘एमओयु’मा बिहीबार हस्ताक्षर गरेका हुन् ।

काबेली विकास बैंकले यस अगाडि नै तेह्रथुममा मुख्य कार्यालय भएको माउन्ट मकालु विकास बैंकसँग मर्ज गरेको थियो । हाल काबेलीका दुई जिल्ला (धनकुटा, तेह्रथुम) र सप्तकोशीका पाँच जिल्ला (झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम)मा शाखा कार्यालय रहेका छन् । अब संयुक्त बैंकका प्रदेश १ का १४ जिल्लामा ३५ शाखा खोल्ने दुवै बैंकका अध्यक्षले बताएका छन् ।

अब प्रदेश १ मा पाँच विकास बैंक हुने
काबेली र सप्तकोशीको मर्जरपछि अब प्रदेश १ मा विकास बैंकको सङ्ख्या ६ बाट ५ मा झर्ने भएको छ । हाल प्रदेश १ मा काबेली र सप्तकोशीसहित धरान मुख्य कार्यालय भएको मितेरी डेभलपमेन्ट बैंक, झापा मुख्य कार्यालय भएका कन्काइ विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक तथा खोटाङ मुख्य कार्यालय भएको साल्पा विकास बैंक रहेका छन् ।