उदयपुरः त्रियुगा नगरपालिकाको मध्य पहाडी क्षेत्रका साउने र खाँबुका किसानले अहिले बारीमा उत्पादन गरिने अम्लिसोबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

खाँबु गैरीटोल र डाँडाटोलका किसानले यस वर्ष प्रत्येक घरले २५ हजारदेखि १ लाखसम्मको अम्लिसो बिक्री गरेको किसान भक्तबहादुर स्माली मगर बताउँछन् । कुचोको रूपमा प्रयोग गरिने अम्लिसोको फूलको उत्पादन यस वर्ष खाँबुमा राम्रो भएकाले आफूले ७५ हजार रुपैयाँभन्दा बढीको अम्लिसो बिक्री गरेको किसान वीरध्वज मगर बताउँछन् ।

गाउँका झण्डै २० घर किसानले अम्लिसो उत्पादन गर्दै आएको र यस वर्ष गाउँबाट १० लाख रुपैयाँसम्मको अम्लिसो बिक्री भइसकेको उनले बताए ।
गाउँमा भिरालो जमीन भएको यस क्षेत्रमा सामान्य परिश्रमबाट नै बारीको कान्लामा उत्पादन गर्न सकिने अम्लिसो साउने र खाँबु क्षेत्रका किसानले व्यावसायिक रूपमा उत्पादन गर्ने गरेका छन् ।