इलामः इलामका चिया उद्योगीहरू सङ्गठित भएका छन् । पूर्वी इलाममा सञ्चालनमा आएका चिया उद्योगलाई एकीकृत गरी नेपाली चियाको विकास गर्ने र अन्तर्राष्ट्रिय बजार सुधार्ने उद्देश्यले उद्योगीहरू सङ्गठित भएका हुन् ।

सूर्योदय टी एसोसिएसन नामक संस्था दर्ता गरी उद्योगीहरू सङ्गठित भएका हुन् । ६० वटा चिया उद्योगहरूले सदस्यता लिएको संस्थाको पहिलो अधिवेशनको उद्घाटन प्रदेश सांसद काजीमान कागतेले गरे । उद्घाटनको क्रममा कागतेले इलाममा चिया उद्योगको सङ्ख्या बढ्दै गए पनि कच्चापदार्थको बिस्तार गरी गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय बजार खोजीका लागि प्रदेश सरकारले पहल गरिररहेको बताए ।

प्रदेश नम्बर १ का १० वटा जिल्लामा चिया र कफी खेतीको विस्तार गर्न प्रदेश सरकारले छुट्टै चिया तथा विकास बोर्ड गठन गर्ने तयारी शुरु गरेको प्रदेश कागतेले बताए ।

पुनम राई भए अध्यक्ष
उद्योगीहरूको पहिलो अधिवेशनले अध्यक्षमा पुनम राई, उपाध्यक्षमा डिल्लीराम श्रेष्ठ, सचिवमा गोपाल कट्टेल, सहसचिवमा बुद्ध तामाङ र कोषाध्यक्षमा महेशकान्त अर्याललाई चयन गरेको छ ।

यसैगरी, सदस्यमा अभिनन्दन गिरी, दिनेश अग्रवाल, खेम प्रधान, उत्तमकुमार श्रेष्ठ, ज्ञानी लिम्बू र टीकाराम अधिकारी चयन भएका छन् ।

अधिवेशनको उद्घाटनमा सूर्योदय नगरपालिकाका अर्थसमिति संयोजक देवेन्द्र शर्मा र चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाका प्रमुख इन्द्र अधिकारीले चिया क्षेत्रको विकासका लागि उद्योगीहरूले अध्ययन गरी योजना पेश गर्नुपर्ने बताएका थिए ।