धनकुटाः धनकुटा नगरपालिकाले नगरक्षेत्रका सुख्खा क्षेत्रमा भने ड्रागन फल अभियान शुरु गरेको छ ।
व्यावसायिक कृषिको लागि एभोकाडोको राजधानी घोषणा गरेर एभोकाडोको व्यावसायिक खेती शुरु गरेको धनकुटा नगरपालिकाले सुख्खाग्रस्त क्षेत्रको लागि भने ड्रागन फलको खेती शुरुवात गरेको हो । मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत ड्रागन फलको पकेट क्षेत्र घोषणा गरेर अति सुख्खाग्रस्त क्षेत्र र विपन्न परिवारको बस्ती रहेको वडा नं. ८ मा उक्त खेती शुरु गरिएको हो ।
आइतबार सान्ताङ गाउँका एक जना किसानको घरमा नगरका मेयर चिन्तन तामाङ र उप–मेयर शकुन्तला बस्नेतले ड्रागन फलको बिरुवा रोपेर खेतीको उद्घाटन गरेका छन् । व्यावसायिक कृषिको लागि एभोकाडोको राजधानी भनी धनकुटालाई घोषणा गरिएको छ ।
ड्रागन फलको लागि भने सीमान्तकृत आठपहरिया जातिको बसोबास रहेको क्षेत्रमा ६ वटा कृषक समूहमार्फत् खेती शुरु गरिएको कृषि अभियन्ता जीवन राईले जानकारी दिए । सो क्षेत्रलाई ड्रागन फलको स्रोत केन्द्रको रूपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको मेयर चिन्तन तामाङले बताए । हाल सो गाउँका १ सय ४२ किसानले १ हजा ५ सय ५५ बिरुवा रोपेर खेती शुरु गरेका छन् । २ वर्ष भित्रमा ५० हजार बोट लगाइने जनाइएको छ ।