इटहरीः १ नम्बर प्रदेशमा रहेका धनकुटाको काबेली विकास बैंक र मोरङको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर किनबेचमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोक लगाएको छ ।

यी २ बैंकले मर्जरमा जाने सम्झौता गरेकाले गाभ्ने वा गाभिने सम्बन्धी नियमावली २०७३ को विनियम ६ (१) बमोजिम दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

यी दुई विकास बैंकले गत शुक्रबार मर्जरको घोषणा गरेका थिए । अब दुवै संस्था औपचारिक रुपमा एक नभएसम्म दुवै बैंकको सेयर किनबेच हुन नपाउने नेप्सेले जनाएको छ ।

यी दुई बैंकबीच १ बराबर १ रेसियो अनुपातमा एकअर्कामा गाभिने सहमति भएको छ । अर्थात् दुवै बैंकका सेयरधनीको सेयर सङ्ख्या घटबढ हुने छैन । तर सेयरमूल्य भने काबेली विकास बैंकको धेरै भएकाले काबेली विकास बैंकका लगानीकर्ता भने आर्थिक मारमा परेका छन् । वि.सं २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्यसहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको छ । यसरी हेर्दा यी २ बैंकको सेयर लिएर बसेका लगानीकर्ताले लगभग ६ महिना यी २ बैंकको सेयर किन्न र बेच्न नपाउने भएको छ ।

मर्जरसम्बन्धी कामको जिम्मा सप्तकोशीका सञ्चालक बराललाई
मर्जर सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक बलराम बरालको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ । अन्य सदस्यमा सप्तकोशीका यज्ञप्रसाद शर्मा र डाक्टर अर्जुन बराल तथा काबेलीका जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भनी बनाएको नियम अनुसार अब बैंकले हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गर्ने जनाएको छ ।

मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ८१ करोड पुग्ने भएको छ । प्रादेशिक स्तरको बैंकका लागि आवश्यक पर्ने थप ३९ करोड पूँजी हकप्रद र बोनस सेयरमार्फत् कायम गर्ने तयारी भएको बताइएको छ ।