इटहरीः फरक व्यवस्थापन र आकर्षणसहित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होटल व्यवसायी सङ्घ इटहरीले पहिलो पटक गर्न लागेको फुड फेस्टिबलमा देश विदेशमा रहेका नेपाली स्रोता दर्शकहरूको मन मुटुमा बस्न सफल चर्चित कलाकारहरूले इटहरी तताउने भएका छन् ।

माघ २४ गतेबाट फागुन ३ गतेसम्म हुने फुड फेस्टिबलमा चर्चित गायक ÷गायिका र हास्य कलाकारहरूले फेस्टिबल अवधिभर इटहरीको माहोल तताउने भएका हुन् । फेस्टिबल आयोजक समितिका संयोजक दीपक पोखरेलका अनुसार फागुन ३ गतेसम्म सञ्चालन हुने फेस्टिबलमा आउने कलाकारहरूको टुङ्गो लागिसकेको छ ।

कोको आउँदैछन् कलाकार ?
फेस्टिबल उद्घाटनको दिन अर्थात् माघ २४ गते नेपाल आइडल सिजन २ मा काउली बुढी नामले परिचित गायिका तथा हास्यकलाकार सन्ध्या बुढाले इटहरीको माहोल तताउने भएकी छिन् । उनी २ फरक अवतारमा मञ्चमा उक्लिने छिन् । दर्शकलाई हँसाउन काउली बुढी हुनेछिन् भने त्यसलगत्तै उनी गायिका सन्ध्या बुढाका रूपमा केही लोकप्रिय गीतहरू लिएर दर्शक सामु आउने छिन् ।

माघ २५ गते फूलनदेवीको आमाको हास्य प्रस्तुति रहने छ । इटहरीको जनता बहुमुखी क्याम्पस अध्ययन गरेका उमेश राईले लिम्बूको लवजमा फूलनदेवीकी आमाको भूमिकामा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने छन् । उनलाई सो दिन काउली बुढीले साथ दिने फेस्टिबल संयोजक पोखरेलले बताए ।

माघ २६ गते पप सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तथा युवाहरूका माझ लोकप्रिय बनेका पप गायक मिङ्मा शेर्पाले आफ्ना पुराना चर्चित गीतसँगै केही नयाँ गीतहरू गाउने छन् । पछिल्लो समय नेपाली साङ्गीतिक आकाशमा कम चर्चामा आए पनि उनले इटहरीको फुड फेस्टिबलबाट प्रदेश १ का दर्शक तथा स्रोताहरू माझ आफूलाई नवीकरण गराउँदैछन् । उनले आँशु झार्दिनँ म...., नमूना बनाइदियौ पागल प्रेमीको..... लगायतका चर्चित गीतहरू पस्कने छन् ।

धेरैजसो नेपाली फिल्ममा आफ्नो स्वर दिएका चर्चित गायक सुगम पोख्रेलको प्रस्तुति २७ माघमा रहने छ । पूर्वबाटै उदाएका उनले इटहरीको फुड फेस्टिबलमा म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्....., भन्छु आज मनका कुरा सुन्छ्यौ भने तिमी... लगायतका चर्चित गीतहरू सुनाएर फेस्टिबलमा आउने दर्शक स्रोतालाई मन्त्रमुग्ध बनाउने छन् ।

माघ २८ गते अहिले चर्चाको शिखरमा पुग्न सफल गायक तथा सङ्गीतकार राजनराज शिवाकोटीको प्रस्तुति रहने छ । पूर्व पश्चिम रेल..., कुटुमा कुटु सुपारी दाना... लगायत युट्युबमा सर्वाधिक रुचाइएका गीतका सङ्गीतकार तथा गायक शिवाकोटीले दर्शक÷ स्रोतालाई प्रत्यक्ष रूपमा आफ्ना कोसेलीहरू पस्कने छन् ।

२९ माघमा आधुनिक गीत तथा गजलबाट चर्चा कमाइरहेका अर्का युवा गायक विश्व नेपालीले फेस्टिबलको माहोल तताउने छन् ।
फरक स्वरका कारण चर्चाको शिखरमा पुग्न सफल व्यस्त गायिका मेलिना राईको साङ्गीतिक प्रस्तुति फागुन १ गते रहने भएको छ । उनले स्वर नदिएका नेपाली फिल्म नै नबनिरहेको अवस्थामा उनले कसरी कसरी कसरी..., कुटुमा कुटु सुपारी दाना..., पूर्व पश्चिम रेल... लगायत हिट गीतहरू गाउने छिन् ।

फागुन २ गतेलाई भने नेपाल या भारतका कुनै चर्चित ब्याण्डको प्रस्तुति राख्ने विषयमा छलफल भइरहेको फेस्टिबल आयोजक संस्था इटहरी होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुलीले बताए ।

फेस्टिबलको अन्तिम दिन अर्थात् फागुन ३ गते अर्का चर्चित युवा गायक प्रमोद खरेलको प्रस्तुति रहने छ । उनले आफ्ना चर्चित पुराना र नयाँ गीतहरू पस्कने छन् ।

माघ २४ गतेदेखि फागुन ३ गतेसम्म हुने फेस्टिबलमा साँझबाट हुने साङ्गीतिक कार्यक्रममा बिहानी, नागी, ओम आदि डान्स सेन्टरहरूले आ आफ्ना प्रस्तुति दिने कार्यक्रम तय भएको फेस्टिबल आयोजक समितिका सदस्य तथा मिडिया संयोजक सुनिल भुसालले बताए ।

त्यस्तै, इटहरीमा रहेर सङ्गीत क्षेत्रमा सङ्घर्ष गरिरहेका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने भएको छ । त्यसको अलवा मोडलिङ क्षेत्रमा लागेका मोडलहरूको फेशन शो पनि गरिने फेस्टिबल आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष गोविन्द थापाले बताए । फेशन शोमा नेपालका केही चर्चित मोडलहरूको सहभागिता रहने बताइएको छ ।