सङ्खुवासभाः  सङ्खुवासभामा रहेको  अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा सुरुङमार्ग र बाँध निर्माणको काम भइरहेको छ । सो आयोजनामा नेपाली र भारतीय गरी २ हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार अहिलेसम्म ३ सय ५२ मिटर सुरुङमार्ग खन्ने काम सकिएको छ ।

आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भएको उनले बताए । ९ सय मेगावाट क्षमताको सो आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।