बेलबारीः स्थानीय सरकार बनेपछि स्थानीय तहमा धमाधम बैंकहरू खुल्न थालेका छन् । मोरङको सुन्दरहरैंचामा पर्ने विराटचोक बजार पछिल्लो समय बैंकहरूको शहरका रूपमा विकास हुँदै गएको छ । पछिल्लो समय बेलबारीमा समेत बैंक खुलिरहेका छन् ।
देश सङ्घीय ढाँचामा गएपछि नगरमा उद्योगधन्दा स्थापनासँगै आर्थिक गतिविधि बढ्दै गर्दा वित्तीय सङ्घ–संस्थाको उपस्थितिसमेत बाक्लिँदै जान थालेको हो । बेलबारीमा केही वर्षअघिसम्म एकाध बैंक मात्रै रहेका थिए । यस क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संघ–संस्था दिन प्रतिदिन बढिरहेका छन् ।
स्थानीय तहमा बैंक खुलेसँगै विकासले समेत गति लिने जनप्रतिनिधिको विश्वास रहेको छ । व्यवसायीहरू समेत खुशी हुने गरेका छन् । केही दिन अघि एभरेष्ट बैंकको उद्घाटन गर्दै सुन्दरहरैंचाका व्यवसायी भोलेश्वर दुलालले बैंकहरू खोलेर व्यवसायमैत्री नगर बनाएमात्रै नगरको विकास हुने बताएका थिए ।
बेलबारीमा भर्खरै खुलेको एन आइसी एशिया बैंकको उद्घाटन गर्दै नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्थानीय तहमा आएका बंैकले घाटा खेप्नुपर्ने अवस्था नआउने बताएका थिए । ‘बैंक लिएर आउनुहोस् नाफा बनाइदिने काम हाम्रो हो,’ नगर प्रमुख सुवेदीले भने, घाटा भयो भनेर बस्नु पर्दैन ।’
साना तथा ठूला उद्योग समेत स्थानीय तहमा जान थालेपछि बैंक खुल्न थालेको उद्योग वाणिज्य सङ्घ बेलबारीका अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।
‘कसैले राजनीतिक मुद्दा तथा आन्दोलनका नाममा बजार बन्द गर भनेकै भरमा हामी बजार बन्द गर्दैनौं,’ उद्योग वाणिज्य सङ्घ कोशीहरैंचाका अध्यक्ष नवराज चापागाईंले भने, ‘त्यस्तो बन्द र हड्तालको हामी कडा प्रतिवाद गर्छाैं ।’ विराटचोकमा बैंक खुल्ने क्रम जारी हुनुको कारण पनि बन्द नहुने नगरको परिचय स्थापित हुनु नै भएको चापागाईंले बताए ।
चर्चित पिएलओ लुब्रिकेन्टस उद्योग यसै क्षेत्रमा पर्छ । यस क्षेत्रमा अन्य साना–उद्योगधन्दा पनि सञ्चालनमा रहेका छन् । त्यस्तै, पूर्वको चर्चित व्यापारिक प्रतिष्ठान गोरखा डिपार्टमेन्टको शाखा पनि यहाँ सञ्चालनमा छ ।
यता, बेलबारीमा समेत सुनचाँदी पसल तथा साना उद्योग खुल्न थालेपछि बंैकका शाखा कार्यालय खुल्न थालेका हुन् । एक दर्जन भन्दा बढी बैंक अहिले बेलबारीमा रहेका छन् । एक वर्ष यता यी २ शहरमा एक दर्जन भन्दा बढी बैंक खुलिसकेका छन् ।