बेलबारीः मोरङको बेलबारीका युवा हरि गुरुङ नेपालमै अर्गानिक खेतीमा आफ्नो भविष्य खोजिरहेका छन् ।
बेलबारी–१ का युवा ३ नम्बर वडामा जग्गा भाडामा लिएर तरकारी खेतीमा लागेका हुन् । पहाडदेखि तराईसम्मको तरकारी अहिले उनको बारीमा पाइन्छ । पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीदेखि तराईमा हुने कुरिलोसमेत उनको बारीमा रहेको पाइन्छ ।
‘धेरै युवा विदेशतिर छन्,’ गुरुङले भने, ‘नेपालमै केही गर्न सकिन्छ भनेर लागेको हँु ।’ एक वर्षदेखि तरकारी खेती थालेको उनले बताए । ‘काममा आफँै खट्ने हो भने नाफा हुँदो रहेछ,’ उनले भने, ‘रासायनिक मल अभाव भयो भनेर बस्नु पर्दैन ।’
उनले अहिले ४ जनालाई रोजगारी दिएका छन् । अर्गानिक उत्पादनमा धेरै व्यक्ति आकर्षित नभएकाले आकर्षण जगाउन बाँकी रहेको उनी बताउँछन् ।
गुरुङले बारीमा ब्रोकाउली, रायो साग, फर्सी, बोडी, खुर्सानी, कुरिलो, करेलालगायतका तरकारी लगाएका छन् । अकबरे खुर्सानी र पहाडे कागतीको पनि लगाउन थालेको उनले सुनाए ।
प्रति कठ्ठा ३ हजार रुपैयाँ वार्षिक भाडा तिर्ने गरी १२ कठ्ठा क्षेत्रफलमा खेती थालेका उनी अब ४ बिघा जग्गा भाडामा लिने योजनामा छन् । रेष्टुरेन्ट पनि शुरु गर्ने तथा लोकल कुखुरा र खसी समेत पाल्ने आफ्नो योजना रहेको उनको भनाइ छ । गोबर तथा पात पतिङ्गर कुहाएर मल बनाउने गरेको उनले बताए ।