इलामः नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।
सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् ।
भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणीकरण नगरिएका कारण समस्या भएको चिया उद्यमीले बताएका थिए ।
चियामा विषादीको प्रयोग अन्त्य गर्न र जैविक चिया उत्पादनका लागि किसानलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने उद्यमीले माग गरेका थिए । इलामको १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा बिक्री हुने गरेको छ । नेपालमा चिया उत्पादन हुनेबारे तेस्रो मुलुकका व्यपारीलाई थाहा नै नभएकाले आधिकारिक प्रतीक चिह्न लागू हुनुपर्ने व्यवसायीको माग थियो ।
नेपाली चिया भारतीय बजारमा लगेर बिक्री गर्नपर्ने बाध्यता रहे पनि सहज निर्यातमा समस्या रहेको पनि उनीहरूले मुख्यमन्त्री राईलाई जानकारी गराए । चिया निर्यातका लागि काँकरभिट्टा नाकामा भारतीय भन्सारबाट अनेक झन्झट बेहार्नुपर्ने उनीहरूको भनाइ थियो ।
पहिले ४ दिनमा कोलकत्ताको बजारमा पुग्ने चिया अहिले १५ दिनमा मात्रै पुग्ने गरेको छ । विसं २०७० पछि चियाखेती विस्तारभन्दा पनि उद्योग खुल्ने क्रम बढेको थियो । तर, सरकार तथा गैरसरकारी संस्थाले उद्योग स्थापना र उपकरणमा मात्रै अनुदान दिएकाले अब किसानलाई जैविक उत्पादन तथा विस्तारका लागि पनि सहयोग गर्नुपर्ने किसान तथा व्यापारी बताउँछन् ।
मुख्यमन्त्री राईले चियाको समस्या समाधान गर्न तीनै तहका सरकारले पहल गर्नुपर्ने बताए । किसानका समस्या समाधान नगरे देशको समृद्धिको कुरा गर्नु व्यर्थ हुने भएकाले चाँडोभन्दा चाँडो चिया अनुसन्धान केन्द्र स्थापना गरी त्यस केन्द्रबाट सबै काम गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
चियाको प्रवद्र्धनका लागि छुट्टै चिया विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारले छलफल अघि बढाएको राईले बताए ।