सङ्खुवासभाः दोस्रो चौमासिकको आधा समय सकिइसक्दा पनि सङ्खुवासभा जिल्लाका स्थानीय तहले पहिलो चौमासिकको प्रतिवदेन बुझाउन सकेका छैनन् । दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नुपर्ने समयमा पनि उनीहरूले पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेका हुन् ।
जिल्लाका १० वटा स्थानीय तहमध्ये खाँदबारी नगरपालिका र धर्मदेवी नगरपालिका बाहेक अन्य स्थानीय तहले पहिलो चौमासिकको प्रतिवदेन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सङ्खुवासभाले जनाएको छ । पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेपछि दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने कोलेनिका सङ्खुवासभाका लेखापाल लेखराज थापा मगरले बताए ।
उनले भने, ‘हामीले मंसिर पहिलो हप्ताभित्र पहिलो चौमासिकको प्रतिवेदन बुझाउन पत्राचार गरेका थियौँ । तर एक महिना भन्दा बढी भइसक्दा समेत २ वटा बाहेक अन्य तहले बुझाउन सकिरहेका छैनन् ।’
पहिलो चौमासिकमा कुनकुन योजनाको लागि कति बजेट खर्च भयो ? कति बजेट खर्च हुन बाँकी छ ? कति बजेट खर्च हुने अन्तिम चरणमा छ जस्ता कुरा उल्लेख गरिएको विवरणसहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको लागि रकम माग गर्नुपर्ने हुन्छ तर पहिलो चौमासिकको प्रतिवेदन बुझाउन ढिलाइ हुँदा ८ वटा स्थानीय तहको दोस्रो चौमासिकको रकम निकासा हुन सकिरहेको छैन ।
पहिलो चौमासिकमा रकम खर्च भए तापनि सफ्टवेयर बेस प्रणाली शुरु गर्न नसकिएकाले ढिलाइ भएको र यसको मुख्य कारण कर्मचारी अभाव भएको मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोख्रेलले बताए ।
पहिलो चौमासिकमा उपभोक्ता समिति गठन, सम्झौता लगायतका कार्य हुने भएकाले विकास बजेट खर्च हुन नसक्ने र सोही बजेट बचिरहेकाले प्रतिवदेन बुझाएर दोस्रो निकासाको माग नगरेको उनको भनाइ छ । पोख्रेलले अबको केही दिनमा नै प्रतिवेदन बुझाउने बताए ।