धरानः तस्करीको काठ खरिद गरेको आरोपमा धरानका एक फर्निचर व्यवसायी बुधबार पक्राउ परेका छन् ।
उनलाई धरान–१७ मा रहेको उदय सामुदायिक वनबाट तस्करी गरिएको काठ मिलेमतोमा खरिद गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले धरान–११ को हुलाक चोकबाट रुद्रकुमार सार्कीलाई पक्राउ गरेको हो । प्रहरीले सार्कीकै फर्निचर हाउसबाट ४२ थान सखुवाको काठ पनि बरामद गरेको छ ।
उदय सामुदायिक वनका पदाधिकारीको संलग्नतामा काठ तस्करी भएको र सार्कीले तस्करीको काठ किन्ने ठेक्का लिएको सूचना पाएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेका सार्कीलाई सेक्टर वन कार्यालय धरानमा आवश्यक कारवाहीका लागि बुझाइएको उनले बताए । सेक्टर वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामाले यस विषयमा अनुसन्धान भइरहेको बताए । अनुसन्धान नगरी केही भन्न नसकिने उनले बताए ।