इटहरीः कोशी राजमार्गअन्तर्गत सेउती खोलाको पुल निर्माण सम्पन्न हुन नपाउँदै भत्किएको छ । इटहरी–धरान सडकखण्डको बीचमा पर्ने पुल निर्माण सम्पन्न नभई भत्किन थालेको हो ।
२०६५ साल असार २९ गते सम्झौता भई २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल हालसम्म सडक विभागमा हस्तान्तरण गरिएको छैन । अर्थात् औपचारिक रूपमा पुल निर्माण सम्पन्न भइसकेको छैन । सो पुल निर्माणको जिम्मा श्री शर्मा ÷मैनाचुली ÷ नेपाल प्रगति जे.भी ले पाएका थिए ।
लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न नभएको भन्दै सडक विभागले ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । गत पुस २९ गते काटिएको पत्रमा चाँडो निर्माण कार्य सम्पन्न गरी विभागलाई जिम्मा लगाउन भनिएको छ । त्यतिमात्र होइन विभागले २०७५ जेठ १७ गते निर्माण कार्य सम्पन्न हुन बाँकी योजना र कम्पनीको नामसहित जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जानकारी बापत परिपत्र नै गरेको छ ।
४ करोड ४६ लाख ४६ हजार ७ सय ९ मा ठेक्का सम्झौता उल्लेख छ । सोही सम्झौतामा समयमा निर्माण सम्पन्न भएन भने वा सन्तोषजनक निर्माण कार्य भएको नपाइए सडक डिभिजन कार्यालयले एकतर्फी ठेक्का रद्द गर्ने उल्लेख गरिएको छ । तर अहिलेसम्म सोही कम्पनीकै नाममा ठेक्का जारी छ ।
पुल निर्माणका साइट इञ्जिनियर सुप्रिम चुडालले ठेकेदार कम्पनीलाई कार्यलयमा हाजिर हुन पत्रमार्पmत् आग्रह गरेका छन् । तर अझैसम्म पनि ठेकेदार कम्पनीका कोही पनि कार्यालयमा आइनसकेको उनको भनाइ छ ।
तोकिएको समयमा निर्माण कार्य नगर्ने र कमसल काम गर्ने कम्पनीलाई कालोसूचीमा राख्न सक्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार प्रक्रिया अगाडि बढाउन लागिएको चँुडालले जानकारी दिए ।
उता, ठेकेदार कम्पनीमध्येको एक मैनाचुली कन्ट्रक्सनका व्यवस्थापक मनोज अधिकारी प्राविधिक समस्याका कारण कागजी प्रक्रिया पु¥याउन नसकिएको बताउँछन् । आफूहरूले ५ वर्ष अगाडि नै निर्माण सम्पन्न गरिसकेको भन्दै उनले कागजी काम मात्र बाँकी रहेको बताए ।
कार्यालयले सम्पूर्ण रकम भुक्तानी गरिसकेको हुनाले अब कुनै कारबाही हुन नसक्ने बताउँछन् अधिकारी । त्यतिमात्र होइन सडक विभागबाट कुनै पत्र आफूहरूमाझ नआइपुगेको उनको भनाइ छ । पुल भत्किएको बारेमा आफूहरू जानकार नभएको उनको भनाइ छ ।
सडक विभागको कागजी रुँगाइ र निर्माण कम्पनीको लापरबाहीको मारमा भने दैनिक यात्रा गर्ने यात्रु परिरहेका छन् । दैनिक लाखौँ यात्रु र हजारौँ सवारी आवतजावत गर्ने सो पुलको बीचमै खाल्डा परेका छन् । कतिपय सवारी चालकले पुलको बीचमा परेको खाल्डो नदेखेर दुर्घटनामा समेत पर्ने गरेका छन् ।
पुल भत्किएको विषयमा जिम्मेवारी लिन निर्माण कम्पनी र सडक विभाग दुवै राजी छैनन् । एकअर्कामा आरोपप्रत्यारोप लागाइरहँदा यात्रुहरू भने समस्यामा पर्दै गएका छन् ।