विराटनगरः ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ विराट जुत्ताचप्पल व्यापार मेला–२०७५ बुधबारदेखि विराटनगरमा शुरु भएको छ ।

बेस फुटवेयर प्रालि, रोयल फुटवेयर प्रालि, रन सुज, लालीगुराँस फुटवेयर, जय श्रीको म्याजिक, हाइलाइफ र कोसेली छाला जुत्ता उद्योगका उत्पादन राखिएको मेला काठमाडाँै बाहिर पहिलोपटक विराटनगरमा आयोजना गरिएको बताइएको छ ।

१५ देखि ६० प्रतिशत छुटको व्यवस्था मेलामा गरिएको बताइएको छ । मेलाले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र उपभोक्ताको स्वदेशी वस्तुप्रति रुचि बढाउन टेवा पु¥याउने अनुमान गरिएको छ ।

नेपालमा वार्षिक ७ करोड जोर जुत्ताचप्पल खपत हुने अनुमान गरिएको छ । त्यसमध्ये स्वदेशी उद्योगका उत्पादन चार करोड जोर मात्र रहेको बताइन्छ । जुत्ताचप्पल उद्योगमा १७ अर्ब रुपैयाँ लगानी र वार्षिक ३२ अर्ब रुपैयाँको कारोबार हुने गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उद्योग फस्टाएमा अर्थतन्त्र बलियो र रोजगार पनि प्रशस्त सिर्जना हुने बताए । उनले उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ आपूर्ति गराउन प्रदेश सरकार प्रयत्नशील रहने प्रतिबद्धता पनि सो अवसरमा गरेका थिए ।

उद्योगी रवीनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोयल सुजका प्रबन्ध निर्देशक भीमलाल पौडेल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले आफ्ना धारणा राखेका थिए । मेलामा २ लाख उपभोक्ताले अवलोकन गर्ने र २ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको मेला संयोजक उपाध्यायले बताए ।