इलामः इलामको फाकफोकथुम गाउँपालिकाका किसानले डेरी उद्योगमा दूध बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

इलामका फुएँतप्पा, आमचोक, फाकफोक, एकतप्पा, लुम्देका किसानले व्यावसायिक गाईपालन गरेर डेरीमा दूध बिक्री गर्न थालेका हुन् । दूध बिक्री गरेर यहाँका किसानले मासिक २० हजार देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

व्यावसायिक गाईपालनमा किसानको आकर्षण थपिएसँगै आम्दानी गर्ने उद्देश्यले दुग्धजन्य उद्योग खुल्ने क्रम बढेको छ । किसानले दूधबाट घ्यू, छुर्पी, ललिपलगायतका सामग्री आफैँ उत्पादन गरेर बिक्री गर्ने क्रम बढेको छ ।

गाउँपालिकामा ५० भन्दा बढी डेरी उद्योग दर्ता भएर सञ्चालनमा छन् । यहाँका प्रत्येक किसानले दैनिक १० देखि ४० लिटरसम्म दूध उत्पादन गरिरहेका छन् । डेरी उद्योगले कम्तीमा १ सय लिटरदेखि १ हजार लिटरसम्म दूध प्रशोधन गरिरहेका छन् ।

आफैँ प्रशोधन उद्योग खोलेर सञ्चालन गर्दा स्थानीय बासिन्दालाई रोजगारी दिन सकिने र आम्दानी पनि राम्रो हुने व्यवसायीको भनाइ छ ।