इटहरीः युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष सुदीप घिमिरेले स्वदेशी उत्पादनको प्रवद्र्धनलाई विशेष जोड दिने बताएका छन् । नवगठित सुनसरी कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै युवा व्यवसायी घिमिरेले मुलुकको आर्थिक समृद्धिमा आफ्नो टिमले टेवा पुर्याउने दाबी गरे ।

सङ्गठित रूपमा युवा उद्यमीहरू एक हुँदा मुलुकबाट पलायन हुने पूँजी रोकिने दाबी गर्दै उनले भने, ‘हामीलाई थप सङ्गठित, सशक्त र मजबुत तरिकाले स्वदेशमै व्यवसाय गर्न युवा उद्यमी मञ्चले प्रोत्साहन गरेको छ ।’ उनले मुलुक अप्ठ्यारो अवस्थामा रहेकै समयमा स्थापना भएको युवाहरूको सङ्गठनले आशाको दियो बाल्ने काम गरेको बताए । मुलुकभर लगानीमैत्री वातावरण नभएर पूँजी पलायन भएको अवस्थामा युवा उद्यमीलाई हौसला दिन सिजर्नशील युवाहरू एक भएको उनको भनाइ थियो ।

विपन्न मुलुकमा पर्ने नेपालको व्यापार घाटा बढिरहेको अवस्थामा युवाहरू एकजुट हुँदै देशलाई आत्मनिर्भरको बाटोतर्फ लग्नुको विकल्प नभएको र त्यसका लागि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड थियो ।

युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष अजय श्रेष्ठले मुलुकभित्र युवालाई रोजगारी सिर्जना गर्ने र युवाको क्षमतालाई उजागर गर्ने काम यस संस्थाले गरेको बताए । उनले राज्यको मुख ताक्नेभन्दा पनि निजी क्षेत्रले राज्यलाई टेवा पुर्याउने काम गरेको बताए । विदेशिने युवा शक्तिलाई स्वदेशमै सम्भावना देखाई थप दक्ष बनाउने दायित्व मञ्चको रहेको तर्क उनले गरे ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले युवाहरूको ऊर्जालाई देश निर्माणमा लगाउनुपर्ने बताए । युवाहरू आफैँ सक्रिय भएर उद्यम क्षेत्रमा आउनु सुखद कुरा रहेको भन्दै यसले सुखद भविष्यको सङ्केत गरेको उनले बताए । प्रदेश सांसद लीलम बस्नेतले देशमा उद्यम गर्न सानो सहसले नपुग्ने बताए । नीति निर्माण क्षेत्रमा भएका झन्झटिला प्रक्रिया पार गर्दै उद्यममा हात हालेका युवाले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

व्यवसायी भीम घिमिरे र पवन सारडाले युवाहरूको आगमन सुखद रहेको भन्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रयासको मुक्तकण्ठले प्रशंसा गरे ।

सुनसरी क्षेत्रका २६ युवाहरू यस फोरममा सङ्गठित भएका छन् । संस्थाका उपाध्यक्ष विनोद पौडेलका अनुसार थप युवा व्यवसायीलाई पनि फोरमले समेट्नेछ । निजी क्षेत्रको विषयमा विभिन्न सेमिनारहरू आयोजना गर्दै लगानीमैत्री वातावरणको वकालत पनि गर्ने बताइएको छ ।

सुनसरी मञ्चमा सुदीप घिमिरे अध्यक्ष छन् भने उपाध्यक्षमा विनोद पौडेल रहेका छन् । महासचिवमा कुमुद निरौला, कोषाध्यक्षामा सन्तोष आचार्य र सदस्यहरूमा किरण पराजुली, पृथ्वीराज पराजुली, चन्द्रमणि देवकोटा, श्रुति शर्मा, सिद्धार्थ श्रेष्ठ, ममता प्रसाईं र आकाश दुलाल रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरूमा आकाश पौडेल, अभिषेक बस्नेत, आभाष भट्टराई, आयुष न्यौपाने, जिसुन चापागाईं, माधव भट्टराई, राजीव घिमिरे, राकेश श्रेष्ठ, सन्तोष कार्की, सरोज बस्नेत, उत्सव थापा, महेश पौडेल, श्रद्धा विष्ट पराजुली, सोनी थापा र सिनेट रिजाल रहेका छन् ।

तस्बिरः बुलेट खतिवडा

NYEF sunsari team pradeshporta.com