भोजपुरः साल्पासिलिछो गाउँपालिकाको दोस्रो चौमासिकको बजेट निकासा रोकिएको छ । गाउँपालिकाले पहिलो चौमासिकमा भएको खर्चको विवरण नपठाउँदा दोस्रो चौमासिकको निकासा रोकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका प्रमुख गुरुभक्त श्रेष्ठले बताए ।

कार्यालयले साल्पासिलिछो बाहेक अरु ८ वटा स्थानीय तहलाई भने बजेट निकासा गरेको छ । अर्थ मन्त्रालय, सरकारी वित्तीय हस्तान्तरण व्यवस्थाअन्तर्गत २ वटा नगरपालिका र ६ वटा गाउँपालिकालाई ४७ करोड ७९ लाख ६७ हजार निकासा गरिएको कार्यालयले जानकारी दिएको छ ।

कुन तहलाई कति निकासा ?
कार्यालयले सबैभन्दा बढी षडानन्द नगरपालिकालाई ७ करोड ५५ लाख १९ हजार ७ सय ५० निकासा गरेको छ । त्यस्तै, सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकालाई ३ करोड ९६ लाख ४५ हजार ५ सय रुपैयाँ निकासा गरेको छ ।

भोजपुर नगरपालिकालाई ७ करोड २३ लाख ४२ हजार ५ सय रुपैयाँ, अरुण गाउँपालिकालाई ४ करोड ६६ लाख २८ हजार २ सय ५० रुपैयाँ र टेम्केमैयुङ गाउँपालिकालाई ५ करोड १३ लाख ३६ हजार निकासा गरेको छ ।

त्यसैगरी, रामप्रसाद राई गाउँपालिकालाई ४ करोड ३९ लाख ६० हजार ५ सय रुपैयाँ, आमचोक गाउँपालिकालाई ४ करोड ५५ लाख ७४ हजार ५ सय रुपैयाँ र हतुवागढी गाउँपालिकालई ४ करोड ५८ लाख ६३ हजार ५ सय रुपैयाँ निकासा दिइएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।