झापाः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रको सहभागिताबिना विकास र समृद्धि असम्भव रहेको बताएका छन् ।

शुक्रबारदेखि झापाको बिर्तामोडमा बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । मुलुकको विकास र समृद्धिमा सरकारी, निजी र सहकारी क्षेत्र महत्वपूर्ण अङ्ग भएकाले यी क्षेत्रले देशको अर्थतन्त्रमा निकै योगदान पुर्याएको उनले बताए ।

१ नम्बर प्रदेश धेरै कुराको सम्भावना बोकेको प्रदेश भएकाले प्रदेश सरकार निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरेर निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको मुख्यमन्त्री राईको भनाइ थियो । उनले निजी क्षेत्रलाई सरकारसँग सहकार्य गर्न आह्वान पनि गरे ।

नेपाल उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर १ हप्ताभित्र महत्वपूर्ण कुराहरूमा हस्ताक्षर गर्दै सबै उद्योगी व्यवसायीलाई लगानीको वातावरण निर्माण गर्न प्रदेश सरकार लाग्ने उनको भनाइ थियो । उच्च मनोबलका साथ लगानी गर्न समेत उनले निजी क्षेत्रलाई आग्रह गरे । भारत, बङ्गलादेश र भुटानसँग छलफल, वार्ता र सम्झौता गर्दै व्यापार अघि बढाउनेतर्फ सरकार सकरात्मक रहेको मन्त्री राईको भनाइ थियो ।

१ नम्बर प्रदेश विभिन्न स्रोत र साधनले सम्पन्न भएकाले पनि यसले जडीबुडी, पर्यटन, कृषि, खनिजको राम्रो सम्भावना बोकेको उनको भनाइ थियो । प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार लागेको यसमा निजी क्षेत्रको सहयोगमा योजनाबद्ध रूपमा गुरुयोजना बनाएर सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारे ।

आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि हरेक पालिकाका जनप्रतिनिधि लाग्नुपर्नेमा उनले जोड दिए । अब जसलाई जे मन लाग्यो त्यही गर्ने छुट नभएको उनले बताए ।

व्यापार महोत्सवलाई महोत्सवका रूपमा मात्र नलिन आग्रह गर्दै समापनका अवसरमा एउटा महत्वपूर्ण घोषणापत्र जारी गर्न सक्नुपर्ने उनले बताए । पहिलो पटक बिर्तामोड उद्योग वाणिज्य सङ्घले प्रदेशमै अन्तर्राष्ट्रिय व्यापार महोत्सव आयोजना गरेकोमा उनले सङ्घको प्रशंसा पनि गरे ।

कार्यक्रममा प्रदेश नम्बर १ का सङ्घीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, नेपाल उद्योग वाणिज्य महासङ्घका चण्डीराज ढकाल, केशवराज पाण्डे पनि उपस्थित थिए । त्यस्तै, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, सांसद पवित्रा निरौला खरेल र धर्मशिला चापागाईँ, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी उपप्रमुख पवित्रा महतरा प्रसाईंलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

महोत्सवको लागि २ सय १० वटा स्टल निर्माण गरिएको छ भने २ लाखभन्दा बढी मानिस सहभागी भई मेला अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

महोत्सव आयोजक समितिका अनुसार नेपाललगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । मेलामा बङ्गलादेश, पाकिस्तान र भारतका प्रदर्शकको पनि सहभागिता रहने बताइएको छ ।

मेलामा ख्यातिप्राप्त कलाकारले दिनहुँ आफ्नो प्रस्तुति देखाउने भएका छन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोडक्टसम्मका उत्पादन मेलामा पाइने बताइएको छ ।

महोत्सवको आकर्षणका रूपमा ३ वटा प्याकेजमा हेलिकोप्टर सेवा सञ्चालन गरिने छ । हेलिकोप्टर मार्फत् ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिने छ । १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइनेछ । बिर्तामोडदेखि ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको अर्को प्याकेज पनि बनाइएको छ ।

sher dhan rai  (1)