इटहरीः घरजग्गासम्बन्धी नीतिहरू बनाउँदा आफूलाई विज्ञको रूपमा बोलाउन घरजग्गा व्यवसायीहरूको सङ्गठन प्रपर्टी डिलर्स एसोसिएसन अफ नेपाल (पिडान) ले सरकारलाई आग्रह गरेको छ ।
शनिबार इटहरीमा पिडान सुनसरीको साधारण सभामा बोल्दै पिडानका केन्द्रीय अध्यक्ष राजकुमार मेवाहाङ राईले सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा घरजग्गा कारोबारले ओगट्ने भएकाले राष्ट्रिय तथा स्थानीय रूपमा नीति निर्माण गर्दा आफूहरूलाई सरकारले विज्ञको रूपमा आमन्त्रण गर्न उनले आग्रह गरेका थिए । ‘नेपालको आर्थिक मेरुदण्ड नै अहिले घरजग्गा भएको छ’, राईले भने, ‘कित्ताकाटसम्बन्धी निर्णय गर्दासमेत हामीलाई जानकारी नदिई गरिन्छ ।’
इटहरीमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सर्वध्वज साँवा र विशिष्ट अतिथि लीलम बस्नेत रहेका थिए । कार्यक्रममा बोल्दै बस्नेतले देश भर्खरै सङ्घीयतामा गएकाले व्यवसायीको माग सम्बोधन गर्न सरकार लागिपरेको बताए ।
प्रमुख अतिथि साँवाले भने घरजग्गा व्यवसायीहरूले नयाँ कामसमेत शुरु गर्नुपर्ने बताएका थिए । ‘अब १० धुर जग्गा किन्दै बेच्दै गर्ने मात्र होइन,’ साँवाले भने, ‘अब त घर कस्तो बनाउने, डिजाइन कस्तो निकाल्ने बस्ने ठाउँ कहाँ राम्रो छ पत्ता लगाउने काम गर्नुपर्याे । अलि भिन्न तरिकाले काम गर्ने हो । १० धुर घडेरी बेचेर मात्र हुँदैन ।’