झापाः प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकमा राजनीतिक क्रान्ति पूरा भएको बताउँदै अब आर्थिक क्रान्तिका लागि निजी क्षेत्रलाई जुट्न आह्वान गरेका छन् ।
झापाको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले वैचारिक आस्था आ–आफ्ना ठाउँमा भए पनि सम्पूर्ण नेपालीले आर्थिक क्रान्तिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने बताए ।
मन्त्री आङ्बोले विकासमा पक्ष र प्रतिपक्ष खोज्न नहुने बताउँदै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दलहरूबीच एकता भएजस्नतै विकासका लागि पनि एकता हुनुपर्ने बताए ।
निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्न सके प्रदेश नं १ लाई आर्थिक क्षेत्रमा पनि १ नं नै बनाउन सकिने उनको भनाइ थियो । नेपालमा उत्पादित वस्तु सबैभन्दा बढी प्रदेश नं १ बाटै निर्यात भइरहेको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष चण्डी ढकाल, प्रदेश नं १ का अध्यक्ष नरेन्द्र खड्कालगायतले कृषिको व्यवसायीकरण गर्न विशेष ध्यान दिन आग्रह गरेका थिए ।