इटहरीः पाँचथर पावर कम्पनीले स्थानीय बासिन्दाका लागि खुला गरेको आइपीओ भर्ने समय भोलि सोमबार सकिँदै छ ।

कम्पनीले आयोजना प्रभावित पाँचथरका सीमित क्षेत्रका जनताका लागि पुस ३० गतेदेखि आइपीओ खुला गरेको हो । कम्पनीले ९ लाख ६२ हजार ५ सय कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहाङ र फालेलुङ गाउँपालिका स्थानीय बासिन्दाले मात्र सो आइपीओमा आवेदन दिन पाउनेछन् ।

पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको लगानी फिर्ता हुन करिब ९ वर्ष लाग्नेछ जसका कारण आइपीओमा खासै उत्साह नदेखिएको बताइएको छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था सामान्य रहेको जनाउँछ ।

पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।