भोजपुरः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले चीनसँगका १५ वटा नाका सञ्चालनमा ल्याउन लागिएको बताएका छन् ।

भोजपुरको गोगनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ३ तहको सरकार बनिसकेकाले जनप्रतिनिधिले जनतालाई निर्वाचनमा गरेका कबुललाई सम्झेर काम गर्न उनले आग्रह गरे । रोजगारी र उत्पादनका क्षेत्रमा केन्द्र सरकारले ध्यान दिइरहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री पोखरेलले स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी संरक्षण गरेर विकासे खुड्किलो अगाडि बढाउन उनले आग्रह गरे । देशमा बेरोजगारी बढ्दै गइरहेको गुनासो आइरहेकाले अबको ४ वर्षभित्र उद्योगधन्दा खोलेर बेरोजगारी कम गरिने उनको भनाइ थियो ।
देशमै रोजगारी सिर्जना गरी उद्यमी बन्न चाहने जोकोही पनि आएमा बिनाधितो ऋण उपलब्ध गराइने उनले बताए ।