सङ्खुवासभाः सङ्खुवासभा जिल्लामा दिनहुँ ठूलो सङ्ख्यामा मालवाहक सवारी साधन भित्रिने गरेका छन् । दैनिक उपभोग्य सामग्रीसँगै निर्माण सामग्री लिएर ठूलो सङ्ख्यामा मालवाहक सवारी साधन भित्रिने गरेका हुन् । तर जिल्लाबाट निर्यात हुने केही सामान नहुँदा मालवाहक सवारी साधन रित्तै फर्कन बाध्य हुन्छन् ।
तराईका जिल्लाबाट पसललाई आवश्यक सामग्री तथा निर्माण सामग्री भित्रिए पनि जिल्लामा निर्यातजन्य सामग्री नहुँदा मालवाहक सवारी साधन रित्तै र्फकन बाध्य भएका हुन् । उद्योग वाणिज्य सङ्घ सङ्खुवासभाका अनुसार जिल्लामा वार्षिक करिब २ अर्ब ५० करोडको हाराहारीमा दैनिक उपभोग्यदेखि निर्माण सामग्री आयात हुन्छ तर निर्यातको अवस्था भने नगण्य छ ।

जिल्लामा विभिन्न ठूला आयोजनाका लागि खाद्यान्नका साथै निर्माण सामग्री भित्रिने गरेका छन् । जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनालाई आवश्यक निर्माण सामग्री ठूलो परिमाणमा भित्रिन्छ । सोही आयोजनालाई आवश्यक पर्ने खाद्यान्नसमेत तराईका जिल्लाबाट आयात हुने गरेको छ ।
त्यस्तै, जिल्लामा सञ्चालित साना तथा ठूला जलविद्युत आयोजनाको लागि पनि ठूलो परिमाणमा निर्माण सामग्री भित्रिने गरेको छ । जिल्लामा कुनै पनि उद्योग तथा कलकारखाना नहुँदा जिल्लाबाट फर्कने मालवाहक सवारी रित्तै फर्कने गरेका हुन् ।

हाल अरुण तेस्रो जलविद्युत परियोजनाको लागि मात्रै भारतीय तथा नेपाली ट्रक र मालवाहक सवारी दैनिक १२ देखि १५ वटासम्म जिल्ला भित्रिइरहेका छन् । तर तिनीहरू फर्कंदा भने रित्तै फर्किरहेका हुन्छन् ।
तराईका जिल्लाबाट आएका केही मालवाहक सवारी साधन (ट्रक) ले भने काठ (लकडी) लिएर फर्कने गरेका छन् । जिल्लाबाट निर्यातको प्रशस्त सम्भावना भएर पनि कसैको ध्यान त्यसतर्फ जान सकेको छैन ।

अल्लो, अदुवा आदिलाई पनि यस जिल्लाको मुख्य आम्दानीको स्रोतका रूपमा लिइँदै आइएको छ । तर यी सामग्री जिल्लामा मात्रै खुम्चिएर बसेका छन् । जिल्लामा कृषिजन्य सामग्री निर्यातको सम्भावना भए पनि जिल्ला आफैँले खाद्यान्नका सामग्री आयात गर्नु परेको दुखेसो गर्छन् व्यापारी सुमन श्रेष्ठ । उनले भने, ‘जिल्लामा भएका जमिन आधाजसो बाँझो अवस्थामा छन्, कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि गरेर निर्यात गर्न सक्ने सम्भावना छ, तर विडम्बना आफैँ खाद्यान्नमा परनिर्भर हुनुपरेको छ ।’ नेपाल अलैँची व्यवसायी सङ्घका उपाध्यक्ष समेत रहेका श्रेष्ठले वार्षिक करिब १ अर्बको हाराहारीमा अलैँची निर्यात हुने बताए ।
अलैँची र नगण्य मात्रामा चिराइतोबाहेक जिल्लाबाट उल्लेख्य मात्रामा कुनै पनि सामान निर्यात गर्न नसकिएको उद्योग वाणिज्य सङ्घ सङ्खुवासभाका अध्यक्ष युवराज शाक्यले बताए ।

‘जिल्लामा धेरै निर्यातको सम्भावना हुँदा पनि निर्यात गर्न नसकेर हामी ठगिनुपरेको छ,’ उनले भने, ‘जिल्लामा खाद्यान्न, लत्ता कपडा, निर्माण सामग्री, जुत्ता चप्पल लगायत दैनिक उपभोग्य सामग्री अनुमानित वार्षिक २ अर्ब ५० करोडको हाराहारीमा आयात होला तर निर्यात भने शून्यजस्तै छ । त्यसैले पनि सामग्री बोकेर आएका ट्रक तथा मालवाहक सवारी रित्तै फर्काउन बाध्य छौँ” ।

कतिपय क्षेत्रमा नीति नबनेका र बनेका नीति पनि कार्यान्वयन नहुने परिपाटीले र कृषकलाई निर्वाहमुखी कृषि प्रणालीबाट माथि उठाउन नसकेका कारण उत्पादनको सम्भावना भएका कतिपय कृषि उपजमा पनि आयात बढेको बढ्यै छ । जिल्लामा उत्पादन भइरहेका अल्लो, अदुवा, अलैँची लगायतका कृषि उपजको समेत निर्यातको प्रचुर सम्भावना हुँदासमेत निर्यात गर्न कठिन परेको उद्योग वाणिज्य सङ्घ सङ्खुवासभाका प्रथम उपाध्यक्ष कृष्ण भगत प्रधानले दुखेसो गरे ।

यहाँ अलैँची, चिराइतो, कुड्की, जटामसी, पाखानवेद, सतुवा, लौठसल्ला, इन्द्रेणी, बिखम्वा, टिमुर, अमला, हर्रो, बर्रो, सुन्तला, कागती, अमिलो, अदुवाजस्ता थुपै्र जडिबुटी समेत निर्यातको सम्भावना छ तर उपयुक्त नीतिका कारण यस्ता जडिबुटी सङ्कलन तथा प्रशोधन गर्न सकिएको छैन ।
यस्ता सामग्री सङ्कलन तथा प्रशोधन गरेर निर्यात गर्न सके यस क्षेत्रका नागरिकको आर्थिकस्तर माथि उक्सिनुका साथै यस क्षेत्रका धेरै मानिसले रोजगारी पाउने र विदेशिनुपर्ने बाध्यता हटी यहाँको आर्थिक अवस्थामा आमूल परिर्वतन आउनेछ ।

जिल्लामा नै रहेको पैसा हाल निर्यात भएर अन्य मुलुकमा जानु भन्दा यहाँको पैसा यहीँ सदुपयोग गर्नेतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।