विराटनगरः विराटनगरका व्यवसायीले बैंकले गुण्डागर्दी शैली अपनाएको आरोप लगाएका छन् । व्यवसायी एकजुट हुँदै बिहीबारदेखि आन्दोलित बन्दै अस्वभाविक ब्याजदर वृद्धिको विरोध गरेका हुन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले गुण्डागर्दी शैलीकै कारण बैंकसँग व्यवसायी त्रसित बनेको दुखेको गरे । ‘उद्योग सञ्चालन गर्दा व्यवसायीले लिएको ७ प्रतिशत ब्याज उद्योग सञ्चालन हुन नपाई १५ प्रतिशतसम्म पुगेको छ ।’ सारडाले प्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी व्यवसायी सुरक्षित हुन्छ र ढुक्कले व्यापार गर्छ ?’

निजी क्षेत्रलाई ज्यादती गरेको भन्दै दुई बुँदे मागसहित आन्दोलित बनेका व्यवसायीले उद्योगको चाबी सरकारलाई बुझाउने बताएका छन् । उनीहरू बैंकले उत्पादनमूलक उद्योगमा ७ प्रतिशतसम्म र व्यावसायिक क्षेत्रमा अधिकतम ९ प्रतिशतभन्दा बढी ब्याज लिन नहुने भन्दै आन्दोलित बनेका हुन् ।

विभिन्न चरणबद्ध आन्दोलनको घोषणा गरेका उद्योगी÷व्यवसायीले राष्ट्र बैंकको कार्यालय विराटनगरमा धर्ना दिने सम्मका कार्यक्रम घोषणा गरेका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले संयुक्त रूपमा आन्दोलनको नेतृत्व लिएका छन् ।

pawan sarada pradeshportal

बिहीबार उद्योग सङ्गठनमा अन्तरक्रिया गर्दै व्यवसायीले बैंकको विरोध नभई बैंकिङ नीतिको विरोधमा आन्दोलित हुनुपरेको बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले निजी क्षेत्र राष्ट्रघाती नभई सरकारको सहयोगी भएको हुँदा सोहीअनुसारको व्यवहार हुनुपर्ने बताए ।

७ प्रतिशतमा लिएको ऋण वृद्धि भएर १५ प्रतिशतसम्म पुग्दा उद्योग कलकारखाना सञ्चालन गर्न धौ–धौ परेको व्यवसायीको गुनासो छ । उनीहरूले राष्ट्र बैंकको अपरिपक्व नीतिका कारण बैंक रातारात नाफामा जाने गरेको र हजारौँ व्यक्तिलाई रोजगारी दिने उद्योग भने टाट पल्टिने अवस्थामा पुगेको घिमिरेले बताए । पहिलो चरणको आन्दोलनअन्तर्गत विभिन्न सरोकारवाला निकायसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

माघ २० गतेदेखि ४ दिनसम्म राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा दिनको २ घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

त्यसपछि पनि मागको कुनै सुनुवाइ नभए माघ २४ गते जिल्ला प्रशासन कार्यालय मोरङमा उद्योगको साँचो बुझाउने र राष्ट्र बैँकको कार्यालय विराटनगरको मूल गेटमा अनिश्चितकालीन धर्ना बस्ने कार्यक्रम रहेको छ ।