तस्बिरः विजय घिमिरे

विराटनगरः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारलार्ई चुनौती नदिन विराटनगरका व्यवसायीलाई आग्रह गरेका छन् ।

केही दिनदेखि चरणबद्ध आन्दोलनमा होमिएका व्यवसायीले बैँकहरूले कार्टेलिङ गरी व्यवसायीलाई निरुत्साहित पार्ने कार्य गरेको बताउँदै आएका छन् ।

व्यवसायीको समस्याबारे राखिएको छलफलमा मन्त्री यादवले एकअर्कालाई सहयोग पुर्याउने गरी सङ्घर्षका कार्यक्रम राख्नुपर्ने भन्दै सरकारलाई च्यालेन्ज गरेर नजान चेतावनी दिएका हुन् । व्यवसायीका माग सम्बोधन गर्ने पक्षमा सरकार रहेको भन्दै केही गरेको छैन भन्ने हिसाबले प्रचार गर्न नहुने तर्क गरे ।

विद्युत महसुलमा सहुलियत, एकल कर प्रणालीलगायतका बारेमा सरकारले छलफल चलाइरहेको र टुङ्गोमा पुग्ने प्रक्रियामा रहेको हुँदा व्यवसायीमा समस्याबारे सरकार जानकार रहेको बताए ।

मोरङ व्यापार सङ्घमा सङ्घ र उद्योग सङ्गठन मोरङले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाबाट उद्योगी व्यापारीको प्रतिनिधिमूलक रूपमा उपस्थिति रहेको थियो । व्यवसायीले बैंकले गरेको कर वृद्धि र व्यवसाय सञ्चालन गर्दा झञ्झटिलो हुने सरकारी रवैयाप्रति असन्तुष्टि देखाउँदै तत्काल सच्याउन माग गरेका थिए ।