विराटनगरः विभिन्न कार्यक्रम घोषणा गरेर आन्दोलित बनेका विराटनगरका उद्योगी\ व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
प्रदेश सरकारसँगको छलफलपछि व्यवसायीले उद्योगको चाबी सरकारलाई बुझाउनेदेखि राष्ट्र बैंकको कार्यालयमा धर्ना दिनेसम्मका कार्यक्रम स्थगित गरेका हुन् ।
हिजो बेलुका प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले व्यवसायीलाई बोलाएर समस्या समाधनका लागि पहल गर्ने लिखित सहमति गरेका थिए । उनले सङ्घीय सरकारलाई समस्या निरूपणका लागि आफैँ काठमाडौं गएर जानकारी गराउने बताएपछि घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिइएको मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिएका छन् ।
बैंकको ब्याजदरको चर्को मारमा परेको बताउँदै उद्योगी महेश जाजूले उद्योगीले उद्योग सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको र पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।
रातारात गरिएको बैंक ब्याजदरको वृद्धिले नेपाली उद्योग टाट पल्टिने अवस्थामा पुगेको तर सरकार भने विदेशी लगानी ल्याउने तयारीमा रहेको भन्दै जाजूले आपत्ति प्रकट गरे ।
माघ मसान्तसम्म सरकारलाई समय दिएका व्यवसायीले मागको उचित ढङ्गले सम्बोधन नभए पुनः आन्दोलनमा जाने बताएका छन् ।