इलामः इलामको फाकफोकथुम गाउँपालिकाका किसान अदुवाको मूल्य बढेपछि खुशी भएका छन् । किसान खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट १ लाख रुपैयाँ आम्दानी गरेको बताए । यसअघि अदुवा बेचेर लागत खर्च उठाउनै गाह्रो पर्ने गरेको उनले सुनाए । खडानन्द ढुङ्गानाले पनि अदुवाबाट १ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए ।
यस वर्ष अदुवा प्रतिमन (४० किलो) को २ हजार ५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म पुगेको छ । किसान धमाधम अदुवा खन्नमा व्यस्त छन् भने कतिपयले खनेर बिक्रीसमेत गरिसकेका छन् । अदुवामा कुनै पनि रोग नलागेकाले यस पटक उत्पादनसमेत बढेको किसानको भनाइ छ ।
यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् ।
मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा किनबेच भइरहेको छ ।
इलाममा ३ हजार ७५ हेक्टर जमिनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।