इटहरीः कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचा एक्स्पो हुने भएको छ ।

सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घको आयोजनामा २०७५ फागुन ४ गतेदेखि १२ गतेसम्म एक्स्पो हुने भएको हो । एक्स्पोमा नेपालकै होची महिलादेखि हेलिकोप्टर उडान प्रमुख आकर्षणको रूपमा रहेको आयोजकको भनाइ छ ।

सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोबारे जानकारी दिइएको हो । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गछियामा हुने एक्स्पो तेस्रो पटक आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

स्थानीय क्षेत्रको आर्थिक एवम् औद्योगिक विकास र बजार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य सङ्घका अध्यक्ष किशोर कार्कीले एक्स्पो सुरक्षित र व्यवस्थित हुने बताए । अटोमोबाइलका २०, लुब्रिकेन्टका १०, कृषिका २०, होटलका १५, बैंक तथा वित्तीय संस्थाका २० वटा गरी जम्मा १ सय ८५ वटा स्टल रहने उनको भनाइ छ ।

७५ लाख बराबर लगानी रहने एक्स्पोमा १५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । नेपाली तथा विदेशी कलाकारका साथै नेपालकै होची महिला मालती ऋषिदेवलाई पनि आकर्षणको रूपमा राखिने बताइएको छ ।