बेलबारीः पछिल्लो समय च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउको खेती अहिले घरका कोठाकोठामा गर्न थालिएको छ ।
त्यस्तै, टोलटोलमा सामुहिक रूपमा खेती गर्न थालिएको छ । बेलबारीका २ वटा वडाका अधिकांश घरमा च्याउ खेती हुन थालेको छ । नगरपालिकाले प्राविधिक रूपमा सहयोग गर्नुका साथै बिउ किनेर दिएपछि अहिले किसानका घरका कोठामा समेत प्लाष्टिकभित्र च्याउका पोका भेटिने गरेका छन् ।
बेलबारी नगरपालिकाको वडा नम्बर ६ र ३ का धेरै घरमा च्याउ खेती हुन थालेको छ । ‘कोठामा पनि च्याउ फल्दो रहेछ । धेरै समय पनि दिनु नपर्ने रहेछ’, बेलबारी–३ का जेबी कोइरालाले भने, ‘भुइँमा राखेर र झुण्डयाएर पनि खेती गर्न सकिँदो रहेछ । घरका कोठा भाडा लगाउनु भन्दा च्याउको खेती गर्दा फाइदा हुने रहेछ ।’
बेलबारी होटल व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका मोहन पोख्रेलले भने, ‘च्याउको बजार पाइँदैन भन्ने छैन त्यही भएर सुत्ने कोठामा नै च्याउका पोका झुण्ड्याउन मन लागि रहेको छ । आफैँले उत्पादन गरको अर्गानिक तरकारी खान पाउनु नै ठुलो कुरो हो ।’ बेलबरीका होटलमा च्याउको तरकारी पाइन्छ भनेर पहिचान बनाउने उनले बताए ।
६ नम्बर वडाले उत्पादन वर्षका रूपमा आफनो वडालाई लिएर बिउदेखि प्राविधिकसम्म सहयोग गर्ने योजना अघि सारेको जनाएको छ । बजारसँगै जोडिएको वडा नम्बर ३ ले आफ्नै उत्पादन खान सिकाउनका लागि तरकारी खेतीमा जोड दिएको बताएको छ ।
यता, नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले छुट्टाछुट्टै वडामा उत्पादनसँग जोडिएर फरकफरक कार्यक्रम ल्याएको बताएका छन् । उनले तरकारी खेतीदेखि मासु उत्पादन तथा सुपारी खेतीसम्मलाई जोड दिएको बताएका छन् ।