झापाः पूर्वी नाकाबाट मूल्यका आधारमा निर्यात हुने प्रमुख १० वटा वस्तुमध्ये चिया निर्यातले ३९ दशमलव ६० प्रतिशत राजस्व धानेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७५÷२०७६ को शुरुको ६ महिनामा चिया निर्यातबाट २ अर्ब ५ करोड ७ लाख ३८ हजार २ सय ५७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नेपाली चियाको माग भारतमा प्रशस्त रहेको नेपाली चिया उद्योगीहरू बताउँछन् । विशेषगरी, इलाम र झापा जिल्लाका बगानमा उत्पादित चिया भारततर्फ निकासी हुने गरेको छ । नेपाली सीटीसी र अर्थोडक्स चिया भारतमा धेरै निकासी हुने गरेको भए पनि पाकिस्तान, जर्मन रुसलगायतका तेस्रो मुलुक समेत पुग्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।

झापा जिल्लामा ९ हजार ८८ हेक्टर जमिनमा चिया लगाइएको छ । समयअनुकूल भए प्रतिहेक्टरमा न्यूनतम १६ हजार किलो चिया उत्पादन हुने चिया किसान बताउँछन् । मजदुर आन्दोलनलगायतका कारण पटकपटक चिया प्रशोधन केन्द्र र बगान बन्द हुँदा व्यवसायीले ठूलो समस्या बेहोर्नुपरेको थियो ।

यसैगरी, नवौं स्थानमा रहेको धानको भुसबाट १ करोड ५२ लाख ५७ हजार ९ सय २९ रुपैयाँ अर्थात् शून्य दशमलव २९ प्रतिशत राजस्व सङ्कलन भएको छ । नेपाल आयात हुने प्रमुख वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो नम्बरमा छ । सो अवधिमा पेट्रोलियम पदार्थ आयातबाट १ अर्ब २७ करोड २६ लाख २१ हजार ८ सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको बताइएको छ ।

भन्सार कार्यालयका अनुसार यो नाका हुँदै ४ अर्ब ८६ करोड ३६ लाख २५ हजार ८ सय २१ रुपैयाँको सामान आयात भएको थियो ।