झापाः झापामा सशस्त्र प्रहरीले ४ लाख रुपैयाँ मूल्य बढीका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वार्टर राजस्व तथा भन्सार गस्तीले जिल्लाका अलगअलग स्थानबाट आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ ।

गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश घिमिरेका अनुसार झापाको मेचीनगर–७ जोरसिमलमा खटिएको टोलीले सामान बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको जनाएको छ । ३ लाख ४६ हजार ३ सय रुपैयाँ मूल्यबराबरको कपडा, मोटर पार्टस, धाराका सामान, मरिच, तन्दुरी, भट्टी चुलोलगायत बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मेचीनगर– १० धुलाबारीस्थित सशस्त्र प्रहरी निरीक्षक चिरञ्जीवि प्रसार्इंको कमाण्डमा गएको मोबाइल गस्ती टोलीले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सूर्ती बरामद गरेको छ ।

६८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको ३ सय ८० केजी सूर्ति बरामद गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताइएको छ ।