विराटनगरः लामो समय विदेशमा श्रम खन्याएका धनकुटाका विजय खड्का बुधवार विराटगनरस्थित श्रम कार्यालयमा पहिलो सेवाग्राही बनेर उपस्थित भएका थिए । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खड्कालाई कतारका लागि श्रम अनुमती प्रदान गरेर प्रादेशिक सेवा प्रारम्भ भएको जनाउ दिए ।
औपचारिक रुपमा सेवा लिन शुरु भए पछि वैदेशिक रोजगारीमा जाने युवाहरु लाभान्वित हुन थालेका छन् । धनकुटाका खड्काले पहिलो पटक कतारका लागि श्रम स्वीकृत लिएकोमा खुसि व्यक्त गर्दै भने ‘अघिल्लो पटक काठमाण्डौमा २ दिन पछि श्रम स्वीकृत पाएको थिएँ, आज त एक घण्टा पनि लागेन ।’
उनले आफु जस्ता हजारौँ युवाले अव सरकारी सेवा चाँडो पाउने विश्वास व्यक्त गरे । उनले छोटो समयमा बिदा लिएर आउने हुँदा श्रमकै कारण कम समय घर बस्नुपरेको बाध्यता पनि सुनाए ।
मोरङ रतुवामाई– ८ का कृष्ण घिमिरे केन्द्रीकृत सेवा हुँदा हदै सम्मको पीडा खेप्नुपरेको दुखेसो पोखे । ‘अहिले सरकारले दिएको सेवाले यति हर्षित छु की, भन्ने शब्दै छैन', उनले थपे 'यस अघि मैले १३ घण्टा लाइन बसेर बल्लतल्ल सेवा पाएको थिएँ । ’
उनले चियाको भरमा १३ घण्टा लाइन बस्दाका पीडा व्यक्त गर्न कठिन हुने बताए । विरामी असक्त भएकाहरु ज्यानको बाजि थापेर अघिल्लै दिन देखि पनि लाइन बसेको देखेको बताए ।
घिमिरेलेअब प्रदेशभरीका कार्यालयबाट यस्तो सेवा पाउन थाले पछि सेवाग्राहीलाइ निकै सहज हुने विश्वास व्यक्त गरे ।
बुधवारै श्रम स्वीकृती लिन आएका विराटचौकका रोशन पुरीले भने समय र पैसाको बचत भएको बताए । प्रदेश एकका लागि विराटनगरबाट सेवा लिन पाए पछि घरबाटै धाउन सहज हुने र यसले पैसा र समयको बचत भएको उनको अनुभव छ ।
‘काठमाण्डौमा हुँदा विचौलियाको विगविगि थियो‘ उनले भने ‘यो त आफ्नै ठाउँ हो, ढुक्कले काम सकेर फर्किइन्छ । ’
प्रदेश १ मा सेवा दिनु भन्दा अघि अन्य प्रदेशबाट पनि श्रम स्वीकृत प्रदान गर्न थालिएको छ । यसले काठमाण्डौमा हुने चापलाइ कम गर्न मदत मिल्ने छ । विदेश जाने युवाको समस्या बुझेर श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले श्रम स्वीकृतीलाई प्रादेशिक चरणमा ढाल्ने योजना बनाएका थिए ।