उदयपुरः केही समयदेखि नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान थालेको छ ।

डेढ वर्षदेखि विद्युत्भार कटौतीको अन्त्य भएपछि नाफामा गएको उदयपुरको जलजलेमा अवस्थित सो उद्योग अहिले फेरि विद्युत्भार कटौती शुरु भएसँगै सिमेन्ट उत्पादनमा कमी भई घाटामा गएको हो ।

पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक ५ पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्डै ३ करोडभन्दा बढी घाटा बेहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।

१ महिनाअघिसम्म दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरेको सिमेन्ट उद्योगले अहिले विद्युत्भार कटौती हुन थालेपछि दैनिक ६ सय ५० मेट्रिक टनसम्म मात्र उत्पादन भएका कारण पुनः सिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए ।

सिरहा– लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्युत्भार कटौती हुन थालेको र सम्बन्धित निकायलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि यसको समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आई पुनः घाटामा जान थालेको उद्योग प्रशासनले बताएको छ ।

एक दिनमा ५ पटकसम्म विद्युत्भार कटौती हुँदा ७ लाखदेखि १० लाखभन्दा बढी घाटा हुने गरेको पनि उद्योग प्रशासनले बताएको छ । उद्योग स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्षदेखियता आएर ५० करोडभन्दा बढीको नाफा गर्न थालेको उद्योग प्रशासनको भनाइ छ ।