धनकुटाः नेपालमा उत्पादन भएको कफीको माग अत्यधिक भए पनि मागअनुसारको उत्पादन हुन सकेको छैन । कफी खेतीको विकास र बिस्तारका लागि उत्पे्रणात्मक तथा प्रवद्र्धनात्मक विषयक कार्यशाला गोष्ठीमा दिइएको जानकारी अनुसार विश्वमा ८ हजार मेट्रिकटन माग भए पनि नेपालमा भने अहिले ५ सय १३ मेट्रिकटन मात्र उत्पादन हुँदै आएको जनाइएको छ ।

नेपालको ४२ जिल्लाको १२ लाख हेक्टर जमिनमा अराविका कफी खेती गर्न सकिने भए पनि अहिले २ हजार ६ सय ५० हेक्टरमा मात्र खेती भएको जानकारी दिइयो । धनकुटामा शुक्रबार शुरु भएको गोष्ठीमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका  निर्देशक लक्ष्मणप्रसाद पोखरेलले नेपालमा ८० वर्ष पहिलेदेखि नै कफी खेतीको शुरुवात भएको बताए । अहिलेसम्म कफीको व्यावसायिक खेती हुन नसक्नु दुःखलाग्दो विषय भएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपर जोनको रूपमा गुल्मी, प्युठान, पाल्पा, अर्घाखाँची र स्याङजा जिल्लामा कफी खेतीको बिस्तार भइरहेको उनले जानकारी दिए । धनकुटामा मात्रै १० हजार हेक्टर जमिनमा कफीको व्यावसायिक खेती गर्न सकिने जनाइएको छ । नेपालले ८४ मेट्रिकटन कफी निर्यात गरे पनि १ सय ६३ मेट्रिकटन आयात गरिरहेको तथ्याङ्क रहेको उनले बताए ।

जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष डिल्लीश्वर दर्नालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई उपस्थित थिए ।

त्यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड धनकुटाका रामइकवाल यादव, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नगेन्द्र राई, गैर सरकारी संस्थाकी प्रतिनिधि सङ्गीता चापागाईं, धनकुटाका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, पत्रकार तथा किसानको उपस्थिति रहेको थियो ।