धरानः प्रदेश १ को सबैभन्दा प्रतिष्ठित बुढासुब्बा गोल्डकप २१ औँ संस्करणमा आएको छ । तर, विभिन्न कारणले यो संस्करणको प्रतियोगितामा बाधा व्यवधान आइरहेका छन् । नेपालका दुई हेभिवेट क्लब मनाङ मस्र्याङ्दी र थ्रीस्टार छैनन् यसपटक ।

यी दुवै क्लब आ–आफ्नै प्राविधिक कारणले बुढासुब्बा गोल्डकपमा सहभागी हुने छैनन् । उनीहरूको असहभागिताले दर्शकको आगमनमा समेत असर पर्ने खेलपण्डितहरूको भनाइ छ ।

दुई वटा हेभिवेट क्लब नआउनु मात्रै होइन, थप दुई तनाव बुढासुब्बा गोल्डकपमा आएका छन् । माघ २६ गते अर्थात् हिजैबाट शुरु हुनुपर्ने हो गोल्डकपको सेड्युल । तर, लगातारको झरीले गर्दा एक दिन खेल सर्यो । एक दिन खेल सर्नु भनेको दैनिक हजारौँ घाटा भएको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङ बताउँछन् ।

२६ गते शनिबारको उद्घाटन खेल २७ गते आइतबार सरेपछि पनि बुढासुब्बा गोल्डकपमा अर्को तनाव थपियो आज । त्यो हो अँध्यारोको कारणले पहिलो दिनको खेलको नतिजा नै आउन सकेन । फ्लड लाइटको व्यवस्था भएको भए खेल भोलिपल्ट नधकेलिने आयोजकको भनाइ छ ।

आज सिएमजी संकटा र मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर (केएफटिसी) बीचको खेल अनिर्णित भयो । निर्धारित समयमा टाइबे्रकर र सडन डेथमा पनि बराबरी भएपछि खेल अनिर्णित भएको हो ।

Mid page add from magh 25

निर्धारित समयमा २–२, टाइब्रेकरमा ४–४ र सडन डेथमा ५–५ मा खेल बराबरी भएपछि नतिजा अनिर्णित भएको थियो । सडन डेथ सम्ममा आउँदा ६ः१० बजेर झमक्क साँझ परेको थियो । र, दुवै टिमले खेल अगाडि बढाउन चाहेनन् । र, पहिलो दिनको खेल भोलिपल्ट धकेलियो ।

यस अगाडि यस्तो घटना कहिल्यै नभएको धरान फुटबल क्लबका अध्यक्ष तथा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई बताउँछन् । भन्छन्, ‘यो पहिलो घटना हो । हामी दुवै टिमसँगको आयोजकको सल्लाहअनुसार भोलि बिहान ८ बजे पुःन टाइब्रेकर गराउने छौँ ।’