पथरीः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताएका छन् ।
मोरङको पथरीशनिश्चरे–२ मा रहेको उचित जैविक मल उद्योग प्रालिको प्रदेशस्तरीय शाखाको सोमबार उद्घाटन गर्दै उनले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।
उनले कृषिलाई उद्योगका रूपमा विकास गर्दै प्रदेशलाई भविष्यमा रासायानिक र विषादीमुक्त गर्दै अर्गानिक प्रदेशका रूपमा घोषणा गर्ने तयारीका साथ सरकार अघि बढेको जनाए । जैविक मल उद्योग प्रदेशकै गौरव भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेटबाट उद्योगले अनुदान प्राप्त गर्ने बताए ।
कृषिलाई आधुनिकीकरणसँगै अर्गानिक बनाएर लानुपर्ने आवश्यकता महसुस भइरहेको बेला जैविक मलको उद्योग स्थापना गरिएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले जनाए । उनका अनुसार एक बिघा क्षेत्रफलमा करीब २ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो ।
सो उद्योगमा मोरङसहित झापा र इलामका ३ वटा कृषक समूह तथा ७ वटा कृषि सहकारीका सदस्य आबद्ध छन् । सो उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुने बताइएको छ ।