तेह्रथुमः तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित परिवारलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताए ।

वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाइरिङ सामग्री, फर्निचर र फोटोकपी मेसिनसमेत प्रदान गरेको छ । वडा क्षेत्रका ३ परिवारलाई ११ बण्डल जस्तापाता उपलब्ध गराइएको वडाध्यक्ष आचार्यले बताए । यस्तै गरीबीकै कारण विद्युत् जडान गर्न नसकेका ४ परिवारलाई मिटरबक्ससहित वाइरिङ सामग्रीसमेत वडाले प्रदान गरेको छ ।

वडा कार्यालयले स्थानीय पाथीभरा समूहलाई २० थान प्लाष्टिक कुर्सी र विश्वनाथ मन्दिरलाई १२ थान प्लाष्टिक कुर्सीसमेत उपलब्ध गराएको छ । वडाले स्थानीय स्वास्थ्यचौकीको सेवा विस्तार गरिएसँगै थप प्रविधियुक्त काम गर्नका लागि १ थान फोटोकपी मेसिनसमेत उपलब्ध गराएको वडासचिव रामप्रसाद भट्टराईले बताए ।

वडाले एक कार्यक्रमका बीच नगद ६० हजारसमेत प्रदान गरेको छ । वडा कार्यालयद्वारा आयोजित विपन्न परिवारलाई सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले सिङ्गो नगरपालिका नै विपन्न र गरीबको उत्थानको पक्षमा रहेको बताए ।