इटहरीः २०७५ कार्तिक १७ गते तराईको महान् पर्व छठ सकिएको भोलिपल्ट थियो । तर, सोही दिन इटहरी २ देउराली चौकका मानबहादुर भुजेललाई भने विशेष दिन भएको थियो । कारण– इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा आएर जागिर दिने आश्वासन दिएका थिए ।
एउटा औसत बेरोगजार मान्छे त जागिरको ‘अफर’ आउँदा खुसी हुन्छ भने कम्मर मुनिको सबै भाग नचलेर ह्विल चेयरमा हिँड्ने भुजेललाई यो झन् धेरै खुसीको अवसर थियो ।

इटहरीको जनता बहुमुखी क्याम्पसमा बि.ए. तेस्रो वर्षमा अध्ययनरत भुजेललाई ‘भोलिपल्टै आउनु योग्यता अनुसार जागिर पक्का’ भनेका थिए मेयर चौधरीले । भुजेल मेयर घरमा आएको पाँच दिनपछि डकुमेन्ट बोकेर नगरपालिकाको मेयरको कार्यकक्षमा पुगे । मेयरले जागिर मिलेपछि बोलाउने बताए र, भुजेल घर फर्के ।

mid-page-add-from-magh-25 1
मेयरकै आश्वासनमा जागिरको लागी मेयरलाई शैक्षिक योग्यता बुझाएको एक सय दिनभन्दा धेरै भइसकेको छ । तर, जागिर के हुने, जिम्मेवारी के हुने भन्ने बारेमा अझै टुङ्गो लागेको छैन ।

आइतबार इलाका प्रहरी कार्यालय इटहरीमा व्यक्तिगत काममा आएका भुजेलले जागिर बारेमा बुझ्दा उनी सार्वजनिक रूपमा बोल्न चाहेनन् । उनले दिन्छु भनेको जागिर नदिएकोमा कुनै आक्रोश पनि पोखेनन् । तर भने, ‘मेयर साबले जागिर हुन्छ भन्नु भएको छ तर कहिले हुन्छ त्यो भन्नु भएको छैन ।’ आफूलाई योग्यताको आधारमा जागिर दिने भन ेपनि कर्मचारी समायोजन जस्ता कुराले ढिलाइ भएको मेयरले आफूलाई एक पटक बताएको भुजेलले बताए । ८० वर्षीय बाबु र ७५ वर्षीय आमासँग बस्दै आएका उनले भने, ‘जागिर हुँदैन त भन्नु भएको छैन तर, प्रक्रियाले ढिलाइ भएको हुनसक्छ ।’

के भन्छन् मानबहादुर भुजेल?

मेरो घर इटहरी २ देउराली चौकमा हो । यो तालतलैया नजिकै पर्छ । अस्ति छठ पर्व सकिएको दिन थियो । अनुगमनको लागि आउनु भएको रै’छ । बाटो भएर आँदा हाम्रोमा पस्नु भयो । सप्तकोशी एफएफबाट लीलाराज भट्टराई सर पनि आउनु भएको थियो । अन्तरवार्ता लिनु भयो । लिँदै गर्दा उहाँले समस्याहरू के छन् भन्नु भयो । मैले जागिरको समस्या छ भने । उहाँले नगरपालिकाले सहयोग गर्छ भन्नु भएको थियो । भोलिपल्टै डकुमेन्ट बुझाउनु भन्नु भएको थियो ।

पाँच दिनपछि डकुमेन्ट बुझाँए । मैले एस.एल.सी. इटहरी २ को सरस्वती मा.वि.बाट गरेको हँु । प्लस टु भने कमर्समा महेन्द्र मा.वि. इटहरीबाट गरेको हुँ । अहिले चाहिँ समाजशास्त्र र जनसङ्ख्या विषय मेजर राखेर जनता बहुमुखी क्याम्पसमा तेस्रो वर्षमा पढ्दैछु । अहिलेसम्म राम्रो जागिर पाएको छैन । मेरो शारीरिक कारणले क्याम्पसमा शौचालय प्रयोग गर्न पनि समस्या छ । म बसेर सक्ने काम गर्न सक्छु । मेयर साबलाई डकुमेन्ट बुझाएको छु । समायोजनले ढिलाइ भयो भन्नु भएको छ । अब केही समयपछि काम हुन्छ होला ।