इटहरीः इटहरीको नाम चलेको रिजाल टासी कम्पनी प्रा.लि.ले उपमहानगरपालिकाको पत्रलाई बेवास्ता गर्दै आफ्नो मनखुसीले धमाधम कम्पाउण्डवाल निर्माण गर्न थालेको छ । उपमहानगरपालिकाले टोल विकास समितिको उजुरीमा पत्र काट्दै तत्काल मापदण्ड बमोजिम नभएकोले कम्पाउण्डवाल निर्माण कार्य रोक्का गर्नु भनी पत्र दिँदा समेत रिजाल टासीले निर्माण कार्यलाई अघि बढाएको हो ।
रिजाल टासी कम्पनी प्रा.लि.ले जग्गा विवादकै बीच कम्पाउण्डवाल निर्माण गरेको भन्दै स्थानीय खेतिखोला टोल विकास समितिले उपमहानगरपालिकामा उजुरी दर्ता गरेका थिए । उजुरीको विषयमा उपमहानगरले तत्काल कामलाई स्थगित गरी छलफलमा बोलाए पनि रिजाल टासीले भने एकतर्फी रूपमा कम्पाउण्डवाल निर्माण गरेको हो । टोल विकास समितिले पहिलो पटक निर्माण गर्दाखेरि नै बाटो क्षेत्रफल समेत मिचेर आफ्नो हिसाबले कम्पाउण्डवाल निर्माण गरेको भन्दै नापी कार्यालयमा उजुरी गरेको थियो ।
तर नापी कार्यालयले तत्कालीन नगरपालिकाले नै विवाद सुल्झाउन नापी गरी चार किल्ला मिलाउनु भन्ने पत्र लेखेर सिफारिस पठाएको थियो । तर सिफारिस अनुसार नगरपालिकालाई आफ्नो प्रवाबमा पारी रिजाल टासीले नापजाँच नगरी हालसम्म पनि जग्गा उपयोग गर्दै आएको छ ।
’चलनचल्तीमा भएको पुरानो बाटोलाई मिचेर केही वर्ष अगाडि कम्पाउण्डवाल निर्माण गरेकोमा गत बर्ष आएको बाढीले भत्काएको थियो’ खेतीखोला टोल विकास समितिकी अध्यक्ष अम्बिका बरालले भनिन ’ विरोधको बाबजुद बनाएको कम्पाउण्डवाल प्रकृतिले आफै भत्काइदियो तर अहिले नगरपालिकाकै केही मान्छेको संरक्षणमा पत्रको बेवास्ता गर्दै काम भइरहेको छ ।’
काम रोक्ने पत्र आयो, झन् बढी कामदारले कम्पाउण्डवाल निर्माण गर्दै ्
उपमहानगरपालिकाले काम रोक्न पत्र पठाए पनि रिजाल टासी कम्पनीले भने झन् बढी कामदार ल्याएर कम्पाउडवाल निर्माण शुरु गरेको हो । ’पहिले १० जनाले मात्र गर्दै थिए आज ५० जना भन्दा धेरै छन् , टोल विकास समितिकी अध्यक्ष अम्बिका बरालले भनिन ’आज रातभरि नै काम गरेर सक्ने तयारी छ भन्ने सुनेको छु ।’ राति भएपछि बल प्रयोग गर्न पनि नामिल्न्ने भएकाले रातभरि काम सक्ने योजनामा रहेको बरालले बताइन ।
वडाध्यक्षलाई देखाउँदै पन्छिए मेयर
उपमहानगरपालिकाले काम नगर्नु भनेर काटेको पत्रको विषयमा मेयर द्वारिकालाल चौधरीलाई जानकारी नभएको पनि हैन । तर मेयर चौधरीले भने वडा नम्बर ५ का वडाध्यक्ष कल्याण कार्कीलाई देखाउँदै त्यतैबाट समस्या समाधान गराउन जानकारी दिए । तर स्थानीय टोल विकास समितिले दिएको पत्रमा इटहरी वडाध्यक्ष कार्कीले भने आफूले केही पनि गर्न नसक्ने बताए ।
वडाध्यक्ष कार्कीे स्वयंले उपमहानगरपालिकाले काटेको पत्रमा समेत चुप लागेर बसी केही गर्न नसक्ने बताएका हुन् । किचलो भएको जग्गामा प्राविधिकले नापी नै नगरी काम गरेको भन्दै उजुरी परे पनि जग्गा नापजाँच नगरी नै कार्कीले रिजाल टासीकै जग्गा भएको दाबी समेत गरेका थिए ।
प्रहरी परिचालन गरेर रोक्न मेयरको आनाकानी
मापदण्ड बमोजिम नभएको संरचनालाई उपमहानगरप्रमुखले तत्काल रोक्न आदेश दिन स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्पष्ट व्यवस्था गरेको छ ।
तर मेयर चौधरीले आफै नेतृत्व गरेको उपमहानगरपालिकाको सम्बन्धित शाखाले काम रोक्न पत्र दिँदा दिँदै इन्कार गरी काम रहँदा समेत उनी मौन बसेका छन् । मापदण्ड नपुगेको उजुर पर्दा पनि मेयर चौधरी काम रोक्न अग्रसर देखिँदैनन् । ’बनाइ सकेपछि पनि कारबाही गर्न सक्छौ, गल्ती गर्ने एक न एक दिन कारबाहीको दायरमा आउँछ’ तत्काल नरोक्ने मनस्थितिमा चौधरीले भने ’ यो विषयमा भोलि अर्को निर्णय हुन सक्छ त्यसैले भोलि पुन नबनाउन ताकेका गर्छौ।’