इटहरी: इटहरीमा जारी प्रदेश एकमै पहिलो पटक आयोजना गरिएको मोटरसाइकल तथा स्कुटरको महामेलाको समय थप गरिएको छ ।
ग्राहकहरूको माग अनुसार १ दिन समय थपिएको बताइएको छ । यमाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एम ए डब्लुको आयोजना र इटहरीको तिरुपति अटो सिटीको संयोजकत्वमा फागुन ८ देखि ११ गतेसम्मका लागि महामेला आयोजना गरिएको थियो । अब भोलि १२ गतेसम्म मेला सञ्चालन हुने भएको छ ।

इटहरी मेडिकल हल छेउ महामेला आयोजना भइरहेको महामेला आइतबार पनि चालु रहने तिरुपति अटोसिटी इटहरीका प्रोप्राइटर संजोग पराजुलीले बताए । महामेलामा ग्राहकहरूको चाप बढेकाले एक दिन समय थप्नुपरेको पराजुलीले बताए ।

yamaha-r15-v30-racing-blue

प्रतिदिन प्रदेश नम्बर १ का विभिन्न जिल्लाहरूबाट आफ्ना पुराना मोटरसाइकल र स्कुटर लिएर महामेलामा एक्सचेन्ज गर्न आउने ग्राहकहरूको भीड बढिरहेको उनले बताए । फागुन ८ गतेबाट शुरु भएको महामेलामा फागुन ११ गते अर्थात् शनिबारसम्ममा १ सय २७ वटा नयाँ मोटरसाइकल तथा स्कुटर बिक्री भइसकेको छ । ४५ वटा गाडी बुकिङ गरिएको पराजुलीले बताए ।

यमाहा कम्पनीका एफजेड एस, आरवान फाइभ, एसजेड आरआर मोटरसाइकल बिक्री भएका छन् । त्यसमध्येका पनि कम इन्धन खर्चमा बढी माइलेज दिने स्यालुट मोटरसाइकल सबैभन्दा बढी बिक्री भएको छ । सो मोटरसाइकलको स्टक नै सकिएकाले कम्पनीबाट थप मगाइएको पराजुलीले बताए । पराजुलीका अनुसार धेरै ग्राहकहरूले स्यालुट मोटरसाइकल बुकिङ गरेका छन् ।

yamaha mela  (1)

महामेलामा आउनेलाई निःशुल्क प्रवेश दिइएको छ । महामेलामा मोटरसाइकल खरिद बिक्रीका साथै ग्राहकहरूको मनोरञ्जनका लागि साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिँदै आइएको प्रोप्राइटर पराजुलीले बताए । दैनिक ५ सय सहभागी भएको महामेलामा आउने मध्येबाट दैनिक लक्की ड्रबाट ३ जनालाई १÷१ लाखका दरले सवारी दुर्घटना बीमा समेत गराइएको पराजुलीले बताए । तिरुपति अटो सिटीले बीमाको व्यवस्था गरेको हो । शनिबारसम्ममा १२ जना भाग्यमानी ग्राहकको सवारी दुर्घटना बीमा गराइसकेको उनले बताए ।

पराजुलीका अनुसार जुनसुकै कम्पनीको सवारी साधन आए पनि न्यूनतम ३० हजारको मूल्याङ्कन गरिएको छ । महामेलामा न्यूनतम मूल्याङ्कन ३० हजार तोकिनुका अतिरिक्त निःशुल्क बाइकको जाँच, खरिदमा ६ हजारको छुट लगायतका सुविधाहरू समेत दिइएको छ ।

yamaha mela  (3) yamaha mela  (2)