भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा बाँदर थुन्नलाई खोर बनाउन थालिएको छ । बाँदरले बाली खाएर किसानलाई दुःख दिएपछि भोजपुरमा बाँदर नियन्त्रणका लागि स्थानीय गाउँलेले खोरको पासो थापेका हुन् ।

बाँसको भाटा तथा चोयाको प्रयोग गरी बाँदर थुन्न पासो बनाइएको छ । स्थानीय सामग्रीको प्रयोग गरेर बनाइने यो प्रविधि कम खर्चिलो हुनाले प्रभावकारी भएको स्थानीय अगुवा युवा सन्दीप राई बताउँछन् । पासोमा वरिपरिबाट बाँसको भाटाको बार लगाएर माथिबाट बाँसकै छानो लगाइन्छ । माथिबाट छेकिएको छानाको मध्य भागतिरबाट ढडिया बनाइ छिर्ने ठाउँ राखिने र मकै तथा अन्य खानेकुरा खोरभित्र राखेपछि खानको लागि खोरमा पसेको बाँदर बाहिर निस्कन सक्दैन ।

टेम्केमैयुङ वडा नं. ६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपाल सो वडाभरि पासो बनाउने काम भइरहेको बताउँछन् । उनले कृषकको प्रत्यक्ष समस्यासँग गाँसिएको विषय समाधान गर्न स्थानीय सरकारको जिम्मेवारी भएको बताए । बाँदरले दिने दुःखका कारण बसाइँ सरेर गाउँ नै रित्तिने सम्भावना बढ्न थालेपछि गाउँलेलाई नै परिचालन गरेर बाँदर नियन्त्रणको अभियान थालेको उनी बताउँछन् ।

खोरमा १० देखि १५ वटासम्म बाँदर एकैपटक आएर पर्ने गरेको स्थानीय केदार नेपालले बताए ।

सो वडामा ४० देखि ५० वटासम्म खोर बनाउने र यसलाई अन्यत्र पनि विस्तार गर्दै लैजाने गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए । उनका अनुसार बाँदरलाई पासोमा पार्न यो विधि प्रभावकारी देखिएकाले यसलाई अन्य वडामा पनि विस्तार गरिने बताइएको छ । बाँदर नियन्त्रणका लागि १ लाख बजेट विनियोजन गरिएको उनले बताए ।

आफूले वर्षभर खान राखेको अन्न बाली बाँदरले खाने तथा क्षति पु¥याउन थालेपछि रामप्रसाद राई गाउँपालिका वडा नं. ४ दलगाउँ र पौवादुङ्मा गाउँपालिका वडा नं. ४ बास्तिम नजिकैको लेखगाउँका पूरै बासिन्दा बसाइँ सरिसकेका छन् ।