इलामः इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो ।

कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार अनिश्चित भएको उद्यमी दिनेश महत बताउँछन् ।

युरोपमा छुर्पी निर्यात गर्ने विभिन्न कम्पनीले पूर्वी नेपालका उद्योगबाट छुर्पी सङ्कलन गर्दै आएका छन् । पछिल्लो समय पश्चिमा मुलुकमा निर्यात हुने छुर्पी ५० प्रतिशतले कम भएको छ भने निर्यात गर्दै आएका कम्पनीले ५ महिनादेखि इलामका उद्यमीलाई भुक्तानी नपठाउँदा किसानले उधारोमा उद्योगलाई दूध बिक्री गर्दै आएका छन् । छुर्पी लगे पनि ५ महिनादेखि कम्पनीले पैसा नदिँदा उद्योग सञ्चालनमै समस्या भएको उद्योगी बताउँछन् ।

८ वर्ष अघिदेखि युरोपमा कुकुरको आहारका लागि छुर्पी निर्यात भएपछि इलाममा छुर्पी उत्पादन गर्ने दुग्धजन्य उद्योग फस्टाएका थिए । छुर्पी निर्यात नभएर उद्योगमा आर्थिक सङ्कट आएपछि अहिलेसम्म इलाममा रहेका १० दुग्धजन्य उद्योग बन्द भएको व्यवसायीको भनाइ छ । निर्यात कम हुनु र निर्यात कम्पनीले छुर्पी लगे पनि समयमा भुक्तानी नदिँदा बाँकी उद्योगले पनि कम मात्र प्रशोधन गरिरहेको बताइको छ ।

इलामका उद्योगमा बनाइने छुर्पी युरोपका बजारमा जाने गरेको छ । तर, युरोपबाटै रकम ढिलो आउने गरेकाले समयमा भुक्तान गर्न नसकिएको उद्योगीको गुनासो छ । कुकुरको आहारका लागि बनाइने छुर्पीमा ‘फ्याट’ र गुलियो पनि नहुने भएकाले स्थानीय बजारमा बिक्री हुँदैन । स्थानीय बजारमा बिक्री नहुने, कम्पनीले लगे पनि भुक्तानी नगर्ने समस्याले ग्रामीण क्षेत्रमा रहेका थुप्रै दुग्धजन्य उद्योग बन्द भएको र बन्द हुने अवस्थामा पुगेको हिमाल चुली डेरी सञ्चालक रमेश तिम्सिना बताउँछन् ।

घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार इलाममा ४ सय २१ दुग्धजन्य र ललिपप उद्योग सञ्चालनमा रहेका छन् । यीबाहेक नगरपालिका र गाउँपालिकामा मात्रै दर्ता गरेर चलाउने उद्योग पनि धेरै छन् । अन्तर्राष्ट्रिय बजारको माग बढेपछि इलामको उत्तरी र पूर्वी गाउँमा किसानले आफैँ दुग्धजन्य उद्योग स्थापना गरी स्वरोजगार बन्दै आएका छन् ।

यी क्षेत्रमा एक वडामा २० वटासम्म दुग्धजन्य उद्योग खुलेका छन् । स्थानीय बजार र सीमापारि भारतीय बजारमा बिक्री हुँदै आएको छुर्पी अमेरिकालगायत विदेश जान थालेपछि राम्रो मूल्य पाए पनि अहिले उद्योगमा आर्थिक सङ्कट परेको छ । उद्यमी भरतकुमार लामिछानेका अनुसार आन्तरिक बजारमा खपत कम हुने र अन्तर्राष्ट्रिय बजारमा निर्यात कम हुँदा उद्योगबाट छिटपुट मात्रै बिक्री हुने घिउछुर्पीको आम्दानीले व्यवसाय चलाउन कठिन हुन थालेको छ ।


इलामबाट पहिले मासिक ५० हजार किलो छुर्पी बाहिर देश जाने गरेकोमा हाल १० हजार किलो मात्रै जाने गरेको छ । इलाममा वार्षिक ११ करोड ६० लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये २ करोड १९ लाख लिटर दूध दुग्ध विकास संस्थानले खरीद गर्दै आएको छ । बाँकी दूधको चिज, घ्यू, छुर्पी, ललीपप, कुराउनी उद्योगमा खपत हुने गरेको छ ।
विसं २०७२ को भूकम्पपछि काठमाडौँ, पोखरालगायत क्षेत्रमा घिउ, छुर्पी र चिजको बिक्री नहुँदा मारमा परेका उद्यमी अहिले छुर्पीको निर्यातमा अन्तर्राष्ट्रिय बजारमा आएको समस्याले मारमा परेको घरेलु तथा साना उद्योग विकास समितिका नासु खड्ग बस्नेत बताउँछन् । बजारमा आएको समस्याले उद्योगले किसानलाई दूधको भुक्तानी दिन सकेका छैनन् भने कार्यरत मजदुरलाई नियमित पारिश्रमिक पनि दिन सकेका छैनन् ।