विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले औद्योगिक नगरीमा मल तथा व्यापारिक सपिङ कम्प्लेक्सको निर्माणले व्यापारमा प्रतिस्पर्धा बढाउने बताएका छन् । उनले भने, ‘हाम्रो प्रदेश औद्योगिक विकास र व्यापारमा पनि उत्तिकै सबल छ ।’ सरकारको लक्ष्य समृद्ध प्रदेश भएको उनले बताए ।

विराटनगरमा एक अर्ब रुपैयाँ लगानीमा निर्माण भएको सेन्ट्रल मल सोमबारदेखि सञ्चालनमा आएको छ ।

शिवरात्रिको अवसर पारेर विराटनगरको मेनरोडमा अवस्थित मल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक भव्य समारोहबीच उद्घाटन गरेका छन् । मलमा चर्चित व्यावसायिक घराना विशाल ग्रुप, देवेनरा गु्रप र हाइलाइफ गु्रपको संयुक्त लगानी छ । मलमा अत्याधुनिक दुई मल्टिप्लेक्स सिनेमा हलसमेत छन् । हल भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । सिनेमा हलको लगानी मात्र ११ करोड रुपैयाँ छ । हलको दर्शक क्षमता अढाई सय जनाको भएको बताइएको छ ।

सो मलमा सबै किसिमको किनमेल एकै ठाउँमा गर्न मिल्ने गरी व्यवस्थापन गरिएको निर्माण पक्षको भनाइ छ । सञ्चालक प्रकाश मुन्दडाका अनुसार प्रदेश १ का प्रमुख शहरी क्षेत्र इटहरी, धरान, दमक, इनरुवासहित भारतका ग्राहकलाई समेत लक्षित गरी मल निर्माण गरिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डको मल निर्माण भएसँगै विराटनगरमा किनमेलको वातावरण परिवर्तन हुने नगरवासीको अपेक्षा छ । ओमेगा हाउजिङ, सेन्ट्रल बजार र सेन्ट्रल मल्टिप्लेक्सको एकीकृत रूप नै मल भएको मुन्दडाले जनाए ।

भारतका आर्किटेक्ट इन्जिनियर केटन विमानीले १५ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा मलको अत्याधुनिक भवनको डिजाइन गरेका हुन् । यसभित्र १ सयवटा पसल रहेका छन् ।

विराटनगरमा खरिद प्रति बढ्दो उपभोक्ताको रुचिलाई ध्यानमा राखेर औद्योगिक घरानासमेत यसप्रति आकर्षित बनेका छन् ।

Central Mall 1