इटहरीः नेपाली ढाका कपडाको माग बढ्दो अवस्थामा रहेको छ । ढाका बुनाइको क्षेत्रमा लागेका जानकारले यसको बढ्दो मागसँगै ठूलो उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
तेह्रथुम र पाल्पा ढाकाको कपडाको लागि प्रचलित छन् । पूर्वी नेपालमा तेह्रथुमे ढाका ब्राण्ड नै बनिसकेको छ । नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको ढाका कपडा विभिन्न जातीय सांस्कृतिक कार्यक्रममा त अनिवार्य जस्तै बनेको छ । पुस्तौनी ढाका कपडा बुन्दै आएकी तेह्रथुमकी मनिषा हुम्पा चुम्लुङ लिम्बूले भनिन्, ‘देश र विदेशको मागलाई धान्न धौधौ परिसक्यो । यसको ठूलो माग ससाना घरेलु उद्योगले पूरा गर्दैनन् ।’
लिम्बू हुुर्कँदै गर्दा घरमा ढाकाका तान थिए । घरमा दिदीहरुबाट सीप सिकेकी उनी थप सीपका लागि भारतको कोलकत्ता पुगिन् । त्यहाँ फेसन डिजाइनको कोर्स सकेर तेह्रथुम फर्किएकी लिम्बूले अहिले इटहरीमा सानो सटरबाट उद्योग शुरु गरेकी छिन् । सङ्गीत चोक नजिक ३ महिना अघि उनले ‘म्याङलुङ तेह्रुथुमे ढाका बुटिक’ खोलिन् ।
लिम्बू इटहरी क्षेत्रको बजार फराकिलो भएको बताउँछिन् । राई लिम्बूले खोलेका पसल एकदमै न्यून रहेको हुँदा पनि आफू यसलाई थप विस्तार गर्ने सोचमा पुुगेको उनको भनाइ छ ।
‘लिम्बू समुदायसँग जतिको ढाकाको पुख्र्यौली साइनो सायदै अरु समुदामा होला’, उनले भनिन् ‘कपडाको सांस्कृतिक महत्व बुुझ्नेले यसको व्यापार र बजारीकरणमा थप न्याय गर्न सक्छ ।’ अहिले बजारमा ढाकाको नाममा नक्कली कपडा धेरै बिक्री हुने गरेको उनको अनुुभव छ ।
विदेशमा समेत नेपाली ढाका ब्राण्ड भइरहेको अवस्थामा नक्कली सामानले बजार पाउँदा ढाका कपडाप्रतिको बुुझाइमा नकारात्मक धारणा पैदा हुने हो कि भन्ने चिन्ता उनमा छ । ‘माग बढेसँगै नक्कली ढाका छ्यापछ्याप्ती छ, यसले त हामी असली ढाकाको उत्पादन गर्नेलाई ठूलो असर पुुग्छ’, उनले भनिन् ।
तेह्रुमका स्थानीय सरकारले वडावडामा ढाका बुनाइका लागि तालीम दिने गरेको छ भने तान बनाउन आवश्यक पर्ने मेसिन सहुलियतमा उपलब्ध गराइदिने गरेको छ । घरमा खाली बस्ने गृहणीलाई यस्तो सहुलियत अतिरिक्त आम्दानी गर्ने भरपर्दो स्रोत बनेको छ ।
त्यहाँ उनले आफैँले बनाएका मात्र सामान राख्छिन् । अन्यत्रजस्तो अन्य स्थानबाट बनाएका सामान बेच्न राख्दिनन् । विदेशमा बढी माग भएका ढाकाका सामानको अमेरिका, अस्ट्रेलिया, हङकङ, कोरिया र जापानमा माग बढ्न थालेको छ ।
‘सानो प्रयासमा मात्र गाह्रो छ,’ यसलाई ठूलो उद्योगको रूपमा विकास गर्ने सोच राखेकी उनले भनिन्, ‘देशमै ठूलो बजार छ । अहिले विदेशमा ढाकाप्रतिको लगावले थप बजार सुरक्षित भएको देखिन्छ ।’