झापाः नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाले हरेक वर्ष प्रदान गर्ने वर्ष उत्कृष्ट सहकारी व्यक्तित्वका रूपमा राष्ट्रिय सहकारी महासङ्घका केन्द्रीय अध्यक्ष केशव बडाललाई सम्मान तथा पुरस्कृत गरेको छ ।

यसैगरी, वर्ष उत्कृष्ट व्यक्तित्वका रूपमा साहित्यकार चुडामणि रेग्मी पुरस्कृत तथा सम्मानित भएका छन् । शुक्रबार झापाको बिर्तामोडमा संस्थाको २६ औँ वार्षिकोत्सव तथा रजत वर्ष समापन समारोहको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुवै व्यक्तित्वलाई पुरस्कृत तथा सम्मान गरेका थिए ।

पुरस्कारका राशी जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला रहेको छ । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र प्रमुख अतिथि मन्त्री पोखरेलले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बडाल र रेग्मीसहित संस्था तथा व्यक्तिगरी आधा दर्जन बढीलाई सम्मान गरिएको थियो ।

NMC-Marathoon-ladies-1st-768x374

संस्थाको २६ औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा शुक्रबार बिहान मिनी म्याराथन पनि भएको थियो । पूर्वपश्चिम राजमार्गको दुर्गापुरदेखि चारपानेसम्मको ४ किलोमिटर दूरीमा महिला तथा पुरुष खुला म्याराथन गराइएको हो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशवप्रसाद बडालले सो दौडको उद्घाटन गरेका थिए ।

संस्थाका कर्मचारीबीच भएको आन्तरिक हाजिरीजवाफमा कर्पाेरेट कार्यालय काँकरभिट्टा प्रथम, दुधे कार्यालय दोस्रो तथा धुलाबारी कार्यालय तेस्रो भएका थिए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७५ सालको माघ मसान्तसम्ममा संस्थामा सदस्य सङ्ख्या ६० हजार ९ सय ७६ जना, तथा ५२ दशमलव ६७ प्रतिशत महिला रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने इष्ट होराइजन माविका विद्यार्थीले ब्याण्ड नृत्य प्रस्तुत गरेका थिए ।

nmc pgm (1)