इटहरीः गरिमा विकास बैंक र झापाका ३ वटा सहकारी संस्थाबीच रेमिट सम्झौता भएको छ ।
बैंकका रिजनल म्यानेजर मीनप्रसाद सुवेदीका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रका ३ वटा सहकारीसँग रेमिट सम्झौता भएको हो । ३ वटै सहकारीमा गरेर ३ हजार जनाभन्दा बढी सेयर सदस्य रहेको सुवेदीले बताए ।
बुद्धशान्तिका हिमशिखर साना किसान कृषि सहकारी शान्तिनगर, जयपुर बहुउद्देश्यीय सहकारी जयपुर र बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था बुधबारेसँग आइतबार रेमिट सम्झौता गरिएको सुवेदीले जानकारी दिए । यीसहित झापाका ५ वटा सहकारीसँग रेमिट सम्झौता भएको सुवेदीको भनाइ छ । ती सहकारी संस्थामार्फत् रेमिटको राम्रो कारोबार भइरहेकाले गरिमा रेमिटमार्फत् कारोबारमा थप सहज हुने अपेक्षा गरिएको उनले बताए ।
झापाभन्दा अघि मोरङका सहकारी संस्थासँग रेमिट सम्झौता भएको पनि उनले जनाए ।