इलामः झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथीभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ सञ्चालनमा ल्याएको छ ।

इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा ४ करोड रुपैयाँ लगानी भइसकेको र थप ८ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले बताए ।

पाथीभरा मन्दिर जाने धार्मिक तीर्थयात्री, इलामको कन्याम र श्रीअन्तु एवं ताप्लेजुङको कञ्चनजङ्घा हिमाली क्षेत्रमा घुमफिरका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा पु¥याउने रिसोर्टको लक्ष्य भएको उनको भनाइ छ ।

झापाको बिर्तामोड र काँकडभिट्टाबाट गाडीमा आधा घण्टामा पुगिने रिसोर्ट क्षेत्रमा बाह्रैमास राम्रो मौसम हुने विशेषता छ । झापामा गर्मी हुँदा यहाँ चिसो हुने तथा अन्य पहाडी क्षेत्रमा सहन नसकिने चिसो हुँदा कुटीडाँडामा न्यानो हुने झापा ट्राभल्स सङ्घका अध्यक्ष नेत्र कार्कीले बताए ।

५६ रोपनी जग्गा ५० वर्षका लागि भाडामा लिएर पर्यटन उद्यमी कटुवालले एकल लगानीमा रिसोर्ट निर्माण गरेको बताइएको छ । नेपालमा पर्यटक आगमन बढिरहेको बेला ठूलो लगानीमा खुलेको यो रिसोर्टले आन्तरिक पर्यटकसहित भारतको पश्चिम बङ्गाल र बिहारका पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको पर्यटन व्यवसायी शङ्कर भट्टराई बताउँछन् ।